ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को सातौं विश्व सम्मेलनमा अर्थमन्त्री डा. महत

क्यानाडा- अर्थमन्त्री डा. प्रकाशशरण महत आज ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) सातौं विश्व सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुभयो ।

क्यानाडाको भ्यानकुभरमा आयोजित सम्मेलनमा सहभागी हुँदै उहाँले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्विपक्षीय बिषयमा छलफल गर्नु भएको छ ।

सो अवसरमा विश्व वन्यजन्तु कोष (WWF)का प्रमुख संरक्षण अधिकृत निक शेखरन, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) प्रशासक अकिम स्टिनर तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) की निर्देशक डा. ग्रेथल अग्वीलरसंग जलवायू परिवर्तनले पारेको विश्वव्यापी प्रभाव तथा नेपालले सामाना गर्नुपरेका चुनौतिहरू एवं त्यसको न्यूनीकरण गर्ने उपायहरूको बारेमा छलफल गर्नु भयो ।

द्विपक्षीय बैठकका क्रममा अर्थमन्त्री डा. महतले वातावरण संरक्षणको क्षेत्रमा नेपालले गरेका प्रयास तथा उपलब्धीको बारेमा प्रकाश पार्नु भएको थियो । त्यसैगरी मन्त्री महतले नेपालले सामुदायिक वनको अवधारणाबाट वनले ओगटेको क्षेत्रफल झण्डै ४५ प्रतिशत पुर्‍याएको, पछिल्लो दशकमा बाघको संख्यामा तेब्बर वृद्धि तथा गैंडाको संख्यामा झण्डै दोब्बर वृद्धि भएको जानकारी दिनुभएको थियो ।

यो उपलब्धीका साथै नेपालमा मानव र जंगली जनावरबीच द्वन्द्वको सिर्जना भएको र यसबाट धनजनको क्षति तथा यसका लागि नेपालले ठूलो स्रोत साधन खर्च गर्नु परेको जानकारी समेत दिनु भएको थियो ।

यसैगरी मन्त्री महतले वन तथा वन्यजन्तु संरक्षणको लागि सडक लगायतका पूर्वाधार निर्माणमा वन्यजन्तु आवतजावतमैत्री पूर्वाधार निर्माणको साथै मानव वन्यजन्तु द्वन्द्वका कारण प्रभावित समुदायहरूको लागि जोखिम बिमा तथा स्वरोजगार एवं आय आर्जनका लागि अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगका लागि आग्रह समेत गर्नु भएको थियो ।

यसैक्रममा नेपाललाई सीप तथा क्षमता विकासका साथै बित्तीय स्रोतको आवश्यकता रहेको बिषय पनि उल्लेख गर्नु भएको थियो । वातावरणीय कोष तथा सुविधाका कार्यक्रमहरु ठोस नतिजा प्राप्तहुनेगरी राष्ट्रिय प्रणालीबाट परिचालन गर्नु पर्नेमा जोड दिदै यस्ता कार्यक्रमहरुले स्थानीय जनताको जीवनस्तर र आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउनु पर्ने बताउनुभयो ।

ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को सातौं विश्व सम्मेलनमा ८३ देशका मन्त्रीहरू तथा १८५ देशमा प्रतिनिधिको सहभागिता रहेको छ भने सम्मेलनको समापन अगस्ट २५ मा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.