अग्रज वाम बुद्धिजीवी टेकनाथ बरालको निधन

कास्की- मानवअधिकारकर्मी एवम् पुराना वाम बुद्धिजीवी टेकनाथ बरालको आज निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत उहाँको आज दिउँसो निधन भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पलालसँग लामो समय काम गर्नुभएका बराल २०४६ सालको जनआन्दोलनमा वाममोर्चाको तर्फबाट गण्डकी क्षेत्रका कमान्डर हुनुहन्थ्यो । पछिल्लो समय कुनै कम्युनिस्ट दलमा आवद्ध नभए पनि उहाँले कम्युनिस्ट आचरण, सिद्धान्त र रुपान्तरणको वकालत भने गर्नुहुन्थ्यो ।

तत्कालिन माओवादी सशस्त्र विद्रोह र दोस्रो जनआन्दोलनका बेला मानवअधिकारीवादीको रुपमा उहाँले उल्लेख्य भूमिका निर्वाह गर्नुभयो । उहाँ राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष समेत हुनुहन्छ ।

संस्थाका अध्यक्ष सुनील पाण्डेले सम्पदा संरक्षणको आन्दोलन, मानवअधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाई गर्ने एक अथक योद्धा गुमाउनु परेको उल्लेख गर्नुभयो ।

वि.स १९९६ साल जेठ ५ गते जन्मनुभएका उहाँको परिवारमा श्रीमती, छोरा, तीन छोरी र नातिनातिना हुनुहन्छ । स्वास्थ्यमा समस्या आएपछि उहाँ ५ दिनदेखि मणिपालमा उपचाररत हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.