उपप्रधानमन्त्री खड्का अस्पताल भर्ना
काठमाडौँ- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचारार्थ भर्ना हुनुभएको छ । उहाँ प्रोष्टेटको शल्यक्रियाका लागि अस्पताल भर्ना हुनुभएको हो ।
अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उहाँको प्रोष्टेटको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ । शल्यक्रियापश्चात अस्पतालको वार्डमा रहनुभएका रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रा डा भण्डारीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उहाँ केही दिन अस्पतालमै रहनुहुने जनाउँदै हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । खतिवडा मन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न अस्पताल जानुभएको थियो ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचारार्थ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्