सिरहाकी मिटरब्याजी सुजाता साह जेल चलान
सिरहा- सिरहाकी मिटरब्याजी सुजाता साहलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको छ । न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
मिर्चैया नगरपालिका–६ की ३५ वर्षीय सुजाता गत साउन २४ गते पक्राउ परेकी थिइन् । उनीमाथि नौ जनाले अनुचित लेनदेनसम्बन्धी मुद्दा दर्ता गराएका छन् । सुजाता सिरहामा लामो समयदेखि मिटरब्याज धन्दा चलाउँदै आएको पीडितहरुको भनाइ छ ।
आयोग र कानून आइसकेको अवस्थामा पनि पीडितको पक्षमा काम नभइरहेको पीडितहरुले आरोप लगाउँदै आएका थिए । सिरहामा चर्को मिटरब्याजको धन्दा चलाउनेहरुलाई सरकारले कुनै किसिमको कारबाही नगरेको भन्दै गुनासो हुँदै आईरहेको थियो ।
साहमाथी ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताउनुभयो ।
साहमाथि प्रहरी र जिल्ला प्रशासनमा दर्जनौं उजुरी छ । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन् ।
प्रतिक्रिया राख्नुहोस्