आन्तरिक पर्यटकको रोजाइमा तिनधारे झरना (फोटो फिचर)
काभ्रे- काभ्रेको रोशी गाउँपालिका–२ स्थित काफलडाँडा आन्तरिक पर्यटकहरुका लागि एउटा गन्तव्य स्थल बनेको छ । यस ठाउँमा तिनधारे झरना रहेको छ ।
काभ्रेको ग्रामीण भूभागमा लुकेर रहेको एक प्राकृतिक सम्पदा हो तिनधारे झरना । तिनधारे झरनाको प्रवर्द्धन तथा विकासका लागि रोशी गाउँपालिकाको आयोजनामा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
अवलोकन भ्रमण कार्यक्रममा बागमती प्रदेश अर्थ मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थबहादुर लामा, उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनलगायतको सहभागीता रहेको थियो । शनिबार पर्यटकीय स्थल तिनधारे झरनाको प्रवर्द्धन तथा विकासका लागि अवलाकन भ्रमण कार्यक्रम सम्पन्न भएको हो ।
तिनधारे झरना अवलोकन पश्चात आयोजित कार्यक्रममा बागमती प्रदेश अर्थ मामिला तथा योजना लामाले तिनधारे झरना संरक्षण संवर्धनका लागि बागमती प्रदेश प्रतिबद्ध रहेको बताउनु भयो । झरना काभ्रेको मात्र नभएर बागमती प्रदेशकै गौरबको पर्यटकीयस्थल बन्न सक्ने उहाँको भनाई छ ।
तीनधारे झरना केही पक्की र केही कच्ची बाटो हुँदै करिव चार घण्टाको यात्रापछि पुगिने स्थल हो । तिनधारे झरना पछिल्लो समय आन्तरिक पर्यटकको रुपमा विकास हुँदै गएको छ । यसलाई संरक्षण तथा प्रवर्धन गर्दै जाने हो भने बाह्य पर्यटकको लागि पनि एउटा राम्रो पर्यटकीय गन्तव्यको रुपमा चिनाउन सकिन्छ ।
महाभारत जङ्गलबाट निस्केको मुहानको चिसो पानीको झरनामा रम्दै तस्बिर लिन, नुहाउन र झरनामा लुकामारी खेल्न पाउने भएपछि केही हप्तादेखि सवारी साधनसहित लिएर त्यहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको छ ।
प्रतिक्रिया राख्नुहोस्