सप्तरी– ४ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्ध सिंह पक्राउ
सप्तरी- मधेश प्रदेशको सप्तरी क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य सांसद अनिरुद्ध कुमार सिंहलाई हत्या अभियोगमा पक्राउ गरिएको छ ।
सिंहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजबाट पक्राउ गरेको हो । गोबिन्द चौधरीको हत्याको आरोपित सिंहलाई म्याद थपका लागि जिल्ला आदालत सप्तरी लगिएको छ ।
सिंहको निर्देशनमा साविकको बोदेबर्साइन गाविस वडा नम्बर ४ बाट वि सं.२०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस वडा नम्बर ५ वैरिया टोलमा पुर्याई पाँचवटा गोली हानी सप्तरीको खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो । मृतकको २०६४ असार १० गते राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षण भएको थियो ।
उक्त विषयमा जाहिरी परेपछि अदालतमा वयान दिन समेत दिन नआएर सिंह फरार भएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भएपनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ ।
उनी २०७९ मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनमा आफै मनोनयन दर्ता देखि लिएर प्रचार प्रसारमा सहभागी भएका थिए । तर फरार सुचिमा रहेका उनलाई प्रहरीले पक्राउ गरी कार्वाही गरेका थिएन ।
मृतकका दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् ।
प्रतिक्रिया राख्नुहोस्