कांग्रेसका सहमहामन्त्री यादव साङ्घातिक आक्रमणबाट घाइते, हमलाको कांग्रेसद्वारा निन्दा

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा धारिलो हतियारले आक्रमण भएको छ । काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा धारिलो हतियारबाट आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सो आक्रमणको कारण खुल्न सकेको छैन । उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यसैबीच सहमहामन्त्री यादवमाथि भएको साङ्घातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ ।

घटनाको कांग्रेसले घोर निन्दा र भर्त्सना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । रिपोर्टर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमणपछि घाइते यादवको अहिले काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको पनि उहाँले बताउनुभयो ।

यादवमाथि आक्रमण गर्ने व्यक्ति र त्यसको पछि हुनसक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग जोडदार माग गरेको छ । कांग्रेसले सह–महामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.