प्रधानमन्त्रीद्वारा गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन आजदेखि गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल गर्दै हुनुहुन्छ ।
सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु छलफल भोलिसम्म जारी रहनेछ । प्रधानमन्त्री दाहालले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौँ बोलाउनुभएको हो ।
प्रधानमन्त्री दाहालको अध्यक्षतामा बसिरहेको बैठकमा श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भुमिकाका विषयमा छलफल भैरहेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिँदादेखि कार्यस्थलसम्म भोगेका समस्या, त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ ।
बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई रोक्ने र श्रम गन्तव्यलाई सुरक्षित बनाउने विषयमा पनि छलफल केन्द्रित हुनेछ । कानुनी प्रावधान, नीतिगत व्यवस्थालगायत विषयमा छलफल गरी रणनीति र योजना बनाएर कार्यान्वयनमा लैजाने सरकारको तयारी छ ।
बैठकले सुरक्षित श्रम गन्तव्यका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ । यही भदौ ७ गते सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्री, सरोकारवाला मन्त्रालय र विभागका प्रमुखसहितको बैठकले श्रम गन्तव्य मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखसँग श्रम आप्रवासनका विषयमा छलफल गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्