रेसुङ्गामा गरुड देवताको मूर्ति राखियो

गुल्मी- गुल्मी जिल्लाको रेसुङ्गामा गरुड देवताको मूर्ति राखिएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी सस्था लिमिटेडले सामाजिक उत्तर दायित्व अन्तर्गत ऐतिहासिक, धार्मिक भूमी रेसुङ्गाको गरुड स्थानमा गरुड देवताको मुर्ति राखेको हो ।

रेसुङ्गा क्षेत्रको यज्ञशाला नजिकै राखिएको गरुड देवताको मूर्ति रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीद्धारा अनावरण गरिएको थियो । शहकारीले प्रदान गरेको मूर्तिलाई प्राण प्रतिष्ठा गरी बिधिवत रुपमा रेसुङ्गा संरक्षण समितिलाई हस्तातरण गरिएको हो ।

रेसुङ्गा क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने उदेश्यले अहिले यसक्षेत्रमा बिभिन्न विकास निर्माणका कार्यहरु भइरहेका छन् । पोखरीबाट यज्ञशाला मन्दिर जाने बिच स्थानमा राखिएको मूर्तिले आकर्षण बनेको छ ।

जिल्ला सदरमुकाम तम्घासबाट २० मिनेट गाडीको यात्रा पछि रेसुङ्गा क्षेत्रको पोखरीमा पुगिन्छ । त्यसपछि पुनः २० मिनेट पैदल मार्ग पछि रेसुङ्गा क्षेत्रको मुख्य स्थल यज्ञशाला पुगिन्छ । यहाँ विभिन्न मठ मन्दीरहरु रहेका छन् । यस क्षेत्रसम्म पुग्न पैदल मार्ग २ वर्ष पहिले नै निर्माण भएको थियो ।

अहिले सडक पनि कालोपत्रे भएको छ । पछिल्लो समय रेसुङ्गा क्षेत्रमा प्राचिन संरचनाको संरक्षण गर्दै पूर्वाधार विकास निर्माण धेरै काम भइरहेको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा यसअघि निर्माण भएको पैदल मार्गमा सिडी निर्माण भएपछि रेसुङ्गा क्षेत्रको सुन्दरता थप बढाएको छ । पोखरीबाट रेसुङ्गा क्षेत्रको यज्ञशाला भ्युटावर लगायत बिभिन्न मन्दिरहरुमा पुग्न पैदल यात्रा गर्नु पर्दछ ।

रेसुङ्गा क्षेत्रको पोखरीमा स्नान गरेपछि मुख्य मन्दिर लगायत बिभिन्न स्थलको अबलोकनका लागि यज्ञशाला मन्दिर् जाने गर्दछन् । धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाको शिखरमा त्रेतायुगमा ऋषि ऋष्यश्रृंगले तपस्या गरेको आध्यत्मिक महत्व रहेको जनश्रुति छ ।

रेसुङ्गामा द्वापर युग,त्रेतायुगदेखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ । ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ ।

द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.