पर्व विशेष मेला असोज ३ देखि

चितवन- उद्योग सङ्घ चितवनको आयोजना र नेपाली जुत्ता घरको सहकार्यमा पर्व विशेष मेला, २०८० हुने भएको छ । उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा यही असोज ३ देखि कात्तिक २ गतेसम्म मेलाको आयोजना गर्न लागिएको हो ।

एक महिनासम्म सञ्चालन हुने मेलामा जुत्ता, चप्पल, खाद्यान्न, लत्ताकपडा, खसी, बोकालगायतका उपभोग्य वस्तुहरू पाइने आयोजकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले सुरुआती तीन हप्ता जुत्ताचप्पल मेला हुने र पछिल्लो एक हप्ता खाद्यान्न, लत्ताकपडा, खसी, बोका राखिने जानकारी दिनुभयो । यसका लागि विभिन्न उद्योगहरूसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

उत्पादक तथा उपभोक्ता र सरोकारवालाहरूबीच प्रत्यक्ष सम्बन्ध स्थापना र उत्पादनको बजारीकरणको प्रवर्द्धन हुने विश्वास लिइएको उहाँले बताउनुभयो । तेह्र वटा जुत्ता कम्पनीहरूले स्टल राख्ने छन् । मेलामा दुई लाखले अवलोकन गर्ने र रु १० करोडको कारोबार हुने अनुमान गरिएको छ ।

स्वदेशी उत्पादनबारे आम उपभोक्तालाई स्थलगत अवलोकन गराई स्वदेशी उत्पादनको उपभोगका लागि प्रोत्साहन गर्नु मुख्य उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो । मेलामा नेपाली उद्योगबाहेक अन्य उद्योगको उत्पादन बिक्री वितरण गर्न नपाइने र सबैको मूल्य सूची टाँस गरिने उहाँको भनाइ छ ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नयनराज घिमिरेले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन मेलाको आयोजना गर्न लागिएको बताउनुभयो । नेपाली उत्पादनका लागि अहिले मुख्य चुनौती न्यून बिजकीकरण रहेको उहाँको भनाइ थियो ।

नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले अहिले नेपालमा वार्षिक १० करोड जोर जुत्ताको माग भइरहेको जानकारी दिनुभयो । अहिले नेपालका उद्योगहरूले १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता भए पनि ६२ प्रतिशतमात्र उत्पादन हुँदै आएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार वार्षिक दुई करोड जोरभन्दा बढी जुत्ता विदेशबाट नेपाल आउने गरेका छन् । नेपालमा आत्मनिर्भर व्यवसाय भएर पनि दक्ष कामदार पाउन नसक्दा समस्या भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.