मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने सहमति

मकवानपुर- हेटौंडा उपमहानगरपालिका–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसलाई बागमती प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने सहमति भएको छ ।

सामाजिक विकास मन्त्रालयमा आइतबार बसेको सर्वदलिय-सर्वपक्षिय बैठकले मकवानपुर क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउने सहमति दिएको हो ।

बैठकमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको केन्द्रिय क्याम्पसका रूपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकार अघि बढेको बताउनुभयो ।

‘प्रदेशको सार्वजजिक विश्वविद्यालय बनेपछि मकवानपुर बहुमुखी क्याम्पस इतिहास बन्छ । प्रदेश सरकार, प्रदेश संरचना र मकवानपुरबासीको लागी यो महत्वपूर्ण सहमति हो । तुरुन्त जग्गा व्यवस्थापन गरेर कार्य अघि बढाइनेछ ।’ मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, ‘असोज २ गते बस्ने उच्च शिक्षा परिषद्को बैठकमा निर्णय गरी तत्काल योजना कार्यान्वयनमा जानेछ’ ।

प्रदेश सरकारको पैसा सकेसम्म भौतिक संरचनामा खर्च नगरी बनेकै संरचनामा विश्वविद्यालय स्थापना गर्न जोड दिएको उहाँले स्पष्ट पार्नुभयो । विज्ञहरुले दिएको सुझावका आधारमा कृषि, स्वास्थ्य र प्राविधिक विषयलाई प्राथमिकता दिने मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।

मकवानपुर बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष अनन्त पौडेलले क्याम्पस विश्वविद्यालयको जिम्मेवारी वहन गर्न तयार रहेको बताउनुभयो । छलफलमा सहभागीले मकवानपुरमा प्रदेश विश्वविद्यालय स्थापना हुनु गौरवको विषय रहेको बताएका थिए ।

प्रारम्भिक छलफलमा सामाजिक विकासमन्त्री कुमारी मोक्तान, बागमती प्रदेशका पुर्वमुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश सभा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.