माइतीघरमा शिक्षकहरुको प्रदर्शन, ट्राफिक व्यवस्था अस्तव्यस्त

विद्यालय बन्द गरे कारवाही गर्ने कानपाको चेतावनी

काठमाडौं-सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरमा शिक्षकहरूले प्रदर्शन गरेका छन् ।

देशभरबाट आन्दोलनमा आएका शिक्षकहरू माइतीघरमा भेला भई आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलन नेपाल शिक्षक महासङ्घको अगुवाइमा भएको हो ।

शिक्षकहरुको आन्दोलनका कारण आज दिनभरजसो काठमाडौँको ट्राफिक अस्तव्यस्त रह्‍यो ।

माइतीघर मण्डलामा भेला हुन विभिन्न ठाउँबाट शिक्षकहरु आउँदा सडकमा ट्राफिक जाम भएको थियो । मण्डला भएर आवतजावत गर्ने सवारी साधनहरुलाई भने फरक रुटबाट संचालन गर्नुपर्ने व्यवस्था मिलाइएको थियो ।

महासंघले शिक्षा मन्त्रालयसँगको वार्ता अस्वीकार गरेको थियो । हिजो शिक्षा मन्त्रालयमा वार्ताका लागि आव्हान गरेको भएपनि महासंघका प्रतिनिधि सहभागी भएनन ।

संसदमा रहेको शिक्षा विधेयक संसदीय समितिमार्फत परिमार्जन गर्न सकिने भएकोले संसदीय वार्ता समितिसँग मात्र वार्ता गर्ने महासंघले जनाएको छ ।

वार्ता नहुन्जेल महासंघले भोलिदेखि देशभरका सबै सार्वजनिक विद्यालय अनिश्चितकालका लागि वन्द गर्ने घोषणा गरेको छ ।

यता काठमाडौँ महानगरपालिकाले भने विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो ।

विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन् गर्न पाइँदैन । विद्यालय खुल्छन् । महानगरपालिका मातहतका विद्यालय भोलि सबै खुला गर्न आग्रह गरिएको छ ।”

महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन पनि दिएको छ ।

आन्दोलन गर्न पाउनु शिक्षकहरुको अधिकारको कुरा भएपनि आन्दोलनका नाममा विद्यालय नै बन्द गर्नु नहुने प्रवक्ता मानन्धरले बताउनुभयो ।

यसअघि पनि काठमाडौँ महानगरपालिकाले शिक्षक कर्मचारीहरुलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो ।

विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी यसअघि पनि दिइएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.