अनिश्चितकालीन विद्यालय बन्दको विपक्षमा भक्तपुरका शिक्षक

भक्तपुर- नेपाल शिक्षक महासङ्घले अनिश्चितकालिन विद्यालय बन्द गरेर आन्दोलन घोषणा गरेपछि त्यसको विरुद्धमा भक्तपुरका शिक्षकहरु सडकमा आएका छन् ।

महासंघले आफ्नो मागका लागि आन्दोलन गरेपनि ७० लाख विद्यार्थीको पढाइ अवरुद्ध पार्नु गलत भएको शिक्षक ज्ञानसागर प्रजापतिले बताउनु भयो । नेपाल क्रान्तिका शिक्षक संघका अध्यक्ष समेत रहेका प्रजापतिले विद्यालय बन्द गरेर भक्तपुरका शिक्षकहरु कहिल्यै आन्दोलनमा समाहित नभएको तर्क गर्नु भयो ।

नैतिकरूपमा नेपाल शिक्षक महासङ्घको आन्दोलनमा सहमति रहेपनि विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार हनन् गर्ने छुट कसैलाई नभएको उहाँको भनाइ छ । संसदमा प्रस्तुत शिक्षा विधेयक सम्पूर्णरूपमा ठीक भने नभएको भन्दै नारा जुलुससहित जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र बुझाएका छन् ।

शिक्षकहरुको राजनीतिक, मौलिक र मानवाधिकार हनन् नगर्न आग्रह गर्दै विधेयकमा भएको अप्रजातान्त्रिक प्रावधानहरू खारेज हुनुपर्ने मागसहित नेक्राशिसंघका तर्फबाट प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् ।

राजनैतिक परिवर्तनमा शिक्षकहरूले पुर्‍याएको योगदानको कदर गर्न आग्रह गर्दै सङ्घीयता संस्थागत हुँदै गइरहेको अवस्थामा शैक्षिक माफियाको चंगुलमा सरकार फस्न नहुने सुझाव दिनुभएको छ । स्थानीय तहलाई गौण पार्दै जिल्ला शिक्षा कार्यालय ब्युँताउन खोज्नु गलत हुने भन्दै शिक्षा विधेयक जस्ताका तस्तै पास गर्न नहुने तर्क शिक्षकहरुको छ ।

विधेयकमा भएका केही त्रुटीपूर्ण प्रावधानहरू सच्याउनु पर्ने भन्दै शिक्षकले पाउने बिदा सहुलियत, निजामती कर्मचारीको सेवा सुविधा सरह शिक्षकको सेवा सुविधा हुनु पर्ने जिकिर गरे ।

शिक्षक बन्न स्नातक हुनैपर्ने भनिए जस्तै शाखा अधिकृत सरह, मावि शिक्षकको तलवमान पनि उपसचिव सरहको हुनुपर्ने र सरोकारवाला शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षाविद्सँग गहन छलफल गरेरमात्र विधेयक पारित गर्नु पर्ने सुझाव भक्तपुरका शिक्षकहरुको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.