गुल्मीमा एक दशकपछि टिकट काउन्टर भवन सञ्चालनमा

गुल्मी- गुल्मी जिल्लाको सदरमुकाम तम्घासको उदिनढुङ्गा बसपार्कमा रहेको टिकट काउन्टर भवन सञ्चालनमा आएको छ । निर्माण कार्यमा वषौंदेखि अलपत्र रहेको भवन सञ्चालनमा आएसँगै यातायात व्यवसायीहरुलाई सहज भएको छ ।

रेसुङ्गा नगरपालिकाको वडानम्बर २ स्थित उदिनढुङ्गामा रहेको बसपार्क व्यवस्थित नभएका कारण चोकचोकमा यातयात व्यावसायीका काउन्टर थिए । अहिले उदिनढुंगा बसपार्कको टर्मिनल भवन करिव एक दशकपछि निर्माण भएको छ ।

बसपार्कमा रहेको टिकट काउन्टर भवन सञ्चालनमा आएसँगै यातायात व्यवसायीलाई सहज भएको छ । पहिले बिभिन्न ठाउँमा टिकट काउन्टर राख्ने व्यवसायीलाई बसपार्क मै राख्न पाउदा सहज भएको गुल्मी यातायात प्रालिका सञ्चालक सदस्य महेशराज भण्डारीले बताउनुभयो ।

उहाँले भवन सञ्चालनमा आएपनि गाडीहरु बसपार्कमा यात्रु झार्न र चढाउनका लागि अझै व्यवस्थित नभएको बताउनुभयो । बसपार्क क्षेत्र कालोपत्रे र सार्वजनिक शौचालय नहुँदा यात्रुलाई समस्या रहेको भण्डारीको भनाइ छ ।

बसपार्क भवनको लागि ०७१ सालमा शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाले चार करोड ९१ लाखको स्टिमेट गरिएको थियो । भवनको स्टिमेटमा शौचालय, प्रहरी बिट, टिकट काउन्टर लगायतका कोठाहरुको डिजाइन गरिएको थियो ।

तर अहिले डिजाइन परिर्वतन गरेर टिकट काउन्टर भवन मात्रै निर्माण भएको छ । जसमा टिकट काउन्टर र केहि कोठाहरु तयार भएका छन् ।

लामो समयसम्म अलपत्र टिकट काउन्टर भवन नगरपालिका र बसपार्क व्यवस्थापन समितिको समन्वयमा सञ्चालनमा ल्याइएको रेसुङ्गा नगरपालिका वडानम्बर २ का वडाअध्यक्ष हीराबहादुर थापाले बताउनुभयो । उहाँले निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा भवन धेरै समयपछि निर्माण भएको बताउनुभयो ।

भवन निर्माण भएर केहि समय अलपत्र हुँदा तोडफोड समेत हुन थालेको थियो । बसपार्क व्यवस्थित नहुँदै नगरपालिकाले भवनको संरक्षणका निम्ति भएपनि काउन्टर मात्रै सञ्चालन गरिएको वडाअध्यक्ष थापाको भनाइ छ ।

अति महत्वपूर्ण र व्यस्त बसपार्कको व्यावस्थापन नहुँदा नागरिक र यातयात व्यावसायीले वषौंदेखि सास्ती खेपिरहेका छन् । अहिले पनि बसपार्क क्षेत्रमा सार्वजनिक शौचालय र सडक कालोपत्रे भएको छैन् । जसले गर्दा अझैपनि समस्या रहेको छ ।

बसपार्क करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको छ । तम्घास बजारका बिभिन्न स्थानमा संरचना निर्माणका निम्ति ५० करोड रुपैयाँ बिनियोजन भएको छ । जसबाट देउरालीदेखि सिमीचौरसम्म सडक कालोपत्रे र तम्घास बजारको उदिनढुंगा बसपार्क कालोपत्रे, शौचालय निर्माण लगायत नगरमा अरु ठाउँमा पनि संरचना निर्माण गरिने रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतदेवी कुँवरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.