दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना घाइते

दाङ- दाङमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो जिल्लाको तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराका करिब ३८ वर्षीय टेक बहादुर हमालले खुकुरी प्रहार गर्दा सोही ठाउँकी करिब ४२ वर्षीया रिता लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनी आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाटीमा खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

यस्तै टेक बहादुरले सोही ठाउँका करिब ४५ वर्षीय बीर बहादुर हमाललाई दायाँ हातमा र करिब ६५ वर्षीया कमला कुमारी हमाललाई पनि खुकुरी प्रहार गरेका थिए ।

घटना भएको खबर प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी जसपुर र इप्रका तुलसीपुर दाङबाट खटिएको प्रहरी टोलीले घाइतेहरू दुई जनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा पठाइएको थियो ।

कमलालाई थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पठाइएको र बीर बहादुर तुलसीपुर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतक लामिछानेको प्रारम्भिक अनुसन्धान कार्य पश्चात पोष्टमार्टमको लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको र खुकुरी प्रहार गर्ने टेक बहादुरलाई उनकै घरभित्र लुकिछिपि बसेको अवस्थामा खुकुरी सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मल्लले जानकारी दिनुभयो ।

खुकुरी किन र के कारणले प्रहार गरेको भन्ने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.