हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कारबाट मुक्तिनाथबाबा सम्मानित

कास्की- हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कारबाट अनन्तश्री विभूषित मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्रीमुक्तिनाथबाबा) सम्मानित हुनुभएको छ ।

उहाँलाई सनातन बौद्धिक संस्कृतिमार्फत धार्मिक चेतना अभिबृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउनुभएको भन्दै सम्मान गरिएको हो ।

पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्दै आइरहेको उक्त पुरस्कार एक समारोहका बीच श्री मुक्तिनाथबाबालाई प्रदान गरिएको हो । जसको राशी रु.एक लाख १ हजारका साथै सम्मानपत्र रहेको छ ।

पुरस्कार अर्पण गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले नेपालमा संस्कृति र प्रकृतिको संयोजन गरी पर्यटन विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा ठूल्ठूला योग शिविर संचालन हुनसक्ने सम्भाव्यता औल्याउनुहुँदै पवित्र शालग्राम पाइने कालीगण्डकीमा क्रसर उद्योग संचालन हुनु दुःखद् भएको पनि जनाउनुभयो ।

पर्यटनको प्रचुर सम्भावनायुक्त क्षेत्र पोखरा रहेको चर्चा गर्नुहुँदै मन्त्री किरातीले विन्ध्यवासिनी धार्मिक क्षेत्रलाई नमूना पर्यटकीय स्थलमा रुपमा विकास गर्न सरकार तयार रहेको स्पष्ट पनि पार्नुभयो ।

सम्मानित व्यक्तित्व मुक्तिनाथबाबाले सम्मानले आफूलाई धार्मिक कार्यमा हौसला थपेको धारणा राख्नुहुँदै पोखरालाई मुक्तिद्वारको संज्ञा दिनुभयो । उहाँले समय भगवान् भएको चर्चा गर्नुहुँदै भारतका तीर्थस्थलको भ्रमण गरेमात्रै धर्म प्राप्ति हुन्छ भन्ने गलत मान्यता त्याग्न नेपाली धर्मावलम्बीहरुलाई सुझाव समेत दिनुभयो ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष स्वः हेमबहादुर-देवीकुमारी प्रधानद्वारा स्थापना उक्त पुरस्कारबाट यसअघि सस्कृतिविद् सत्यमोहन जोशी, स्वामी आत्मानन्द गिरी, महिला अधिकारकर्मी दुर्गा घिमिरे तथा वरिष्ट कवि तथा साहित्यकार तुलसी दिवस सम्मानित भइसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.