जथाभावी ग्रामीण सडक निर्माणले कर्णाली राजमार्ग नै अतिक्रमणमा

जुम्ला- कर्णाली राजमार्ग अन्तर्गत विशेषगरी माथिल्लो कर्णालीका नागरिकका लागि सबैभन्दा भरपर्दो र सहज माध्यम हो ।
यही राजमार्गबाट दैलेख, जुम्ला,कालिकोट, मुगु, डोल्पा लगायतका ठाउँबाट सबैभन्दा बढी लामो तथा छोटा दुरीका सवारी साधन चल्ने गरेका छन् ।
बर्षादमा बाढी पहिरो र हिउँदे याममा हिउँले राजमार्ग बन्द हुने गरेको छ । पछिल्लो समयमा यहाँका स्थानीय तहले जथाभावी राजमार्गबाट गाउँ-गाउँमा जोड्ने ग्रामीण सकड निर्माणको होडबाजीले कर्णाली राजमार्गलाई क्षति पुयाउने कामसमेत गरेको छ ।
मुख्य राजमार्गलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिँदा वर्षा तथा हिमपातका बेला पहिरोले राजमार्गलाई निकै समस्या पार्ने काम गरेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र बिष्टले जानकारी दिनुभयो ।
जथाभावी ग्रामीण सडक निर्माण कार्यले राजमार्गलाई जोखिममा परेको छ ।
कार्यालय प्रमुख बिष्टले भन्नुभयो,“ सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्ने कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका, खाँडाचक्र र तिलागुफा नगरपालिका,जुम्ला जिल्ला भित्र पर्ने तिला तातोपानी,चन्दननाथ,हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिका र मुगु जिल्लामा पर्ने छायानाथ रारा नगरपालिकालाई सार्वजनिक सडक ऐन २०३१ बमोजिम राजमार्गबाट पहुँच सडक बनाउनको लागि स्वीकृति लिएर र कार्यालयसंग समन्वय गरी सडक निर्माण गर्न भनी परिपत्र गरिएता पनि कुनै स्थानीय तहले कार्यान्वन नगरेको कार्यालय प्रमुख बिष्टको भनाइ छ । ”
कालिकोटको शुभकालिका गाउँपालिकाले साविक कर्णाली राजमार्गको दहीखोला नजिकैबाट गाउँ जाने सडक बनाएको कारण राजमार्गमा ठूला–ठूला ढुंगाहरू खसेर सडकमा क्षति भएको छ । साथै वर्षाको समयमा हिलो राजमार्गको सडकमा आई सडक अवरुद्ध हुने गरेको छ ।
त्यस्तै तिलागुफा नगरपालिकाको फोइमहादेव जाने सडक निर्माणले वर्षाको समयमा माटो र पानी सँगै लेदो बनेर सडकमा खस्ने गरेकोले भीग्ममा बर्षाको समयमा सधैंजसो सडक अवरुद्ध भई हिलो सफा गर्दै यातायात सुचारु गर्नुपर्ने आवस्था आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख बिष्टले जानकारी दिनुभयो ।
विना स्वीकृति जथाभावी खोलिएका पहुँच सडकहरुको कारण राष्ट्रिय राजमार्गहरुमा सहज यातायात आवागमनमा अवरोध उत्पन्न भएको छ ।
स्थानीय तह तथा प्रदेशबाट सडकहरू निर्माण गर्नुपूर्व राजमार्गबाट छुट्टिने सडकहरु भएमा सम्बन्धित निकायबाट स्वीकृती लिएर र राजमार्गलाई असर नपर्ने गरी निर्माण गर्नुहुन स्थानीय तहलाई पटक पटक जानकारी गरेका छौ । अब पूर्णरुपमा पालना नभएको खण्डमा सडक ऐन अनुसार कानुनी कारर्वाही गरिने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
राजमार्गलाई कुनै असर नगरी ग्रामीण सडक निर्माण गरेको र सडकको ट्रयाक खुलाई गाउँ–गाउँमा सडक निर्माण गर्दा राजमार्गलाई विशेष ध्यानमा राखेर काम गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकाया बताउनुहुन्छ ।
सडक निर्माण गर्दा राजमार्गलाई असर नगरी काम गरिनुपर्छ । कर्णाली राजमार्गबाट जोडिने ग्रामिण सडक निर्माण गर्दा सम्बन्धित निर्माण कम्पनीलाई अग्रीम जानकारी गराउने स्थानीय तहका प्रमुख बताउँछन् ।।
प्रतिक्रिया राख्नुहोस्