जुम्ला हिमा गाउँपालिका: विपन्न तथा जेष्ठ नागरिक मैत्री स्थानीय सरकार
जुम्ला- हिमा गाउँपालिका वडा नम्बर ७ धाचु गाउँकी हासपुरा शाही ६२ वर्षकी हुनुभयो । बुढ्यौली लागेसँगै उहा आँखा कम देख्न थाल्नु भएको छ । उहाँ शारीरिक रूपमा समेत कमजोर हुँदै जानु भएको छ ।
शाहीलाई आँखा चेकजाँचका लागि सदरमुकाम धाउन परेको छैन । स्वास्थ्य उपचारको लागि पनि अन्यत्र धाउनुपर्ने दु:ख छैन । शाही भन्नु हुन्छ ‘आँखाको उपचार स्थानीय सरकारले गरिदिन्छ । गाउँमै स्वास्थ्य सेवा पाइएको छ । टाढा जानुपर्ने दु:ख छैन ।’
गाउँपालिकाको सहयोगमा शाहीको दुई वर्ष पहिले दाँया आँखा शल्यक्रिया गरिएको थियो । उक्त सेवा उहाले नि:शुल्क पाउनु भएको थियो । गाउँपालिका कै आयोजनामा सुरू भएको मोतिविन्दु सम्बन्धि नि:शुल्क शल्यक्रिया शिविरमा भेटिनु भएकी उहाँ अहिले बाँया आँखा शल्यक्रिया गर्दै हुनुहुन्छ ।
हिमा-५ का सन्ताके कामीको परिवार आर्थिक रूपमा विपन्न छ । ज्यालादारी गरेर परिवारको गर्जो टारिरहेका सन्तोकेकी श्रीमतीलाई पनि आँखाको समस्या छ । उहाँले श्रीमती काली कामीको आँखा सम्बन्धि समस्या समाधानका लागि लामो समय उपचार गर्न सक्नुभएको थिएन ।
६० वर्षीया कामीको दुबै आँखाको शल्यक्रिया गर्नुपर्नेछ । यस्तै ७७ वर्षीय सार्के अधिकारी पनि गाउँपालिकाको सहयोगमा पहिलोपटक आँखाको शल्यक्रिया गर्दै हुनुहुन्छ । हासपुरा, सार्के र काली त केही प्रतिनिधि पात्रमात्र हुन् ।
हिमा गाउँपालिकाले जेष्ठ नागरिक तथा विपन्न नागरिकको स्वास्थ्य सेवालाई प्राथमिकता दिंदै आएको छ । जेष्ठ नागरिकहरूको समस्यालाई मध्यनजर गर्दै पालिकाले घरदैलोमा सेवा प्रवाह गरिरहेको छ । केही महिनाको अन्तरमा स्वास्थ्य जाँचदेखि शल्यक्रिया सेवासम्म पुर्याउँदै आएको गाउँपालिकाले जनाएको छ ।
यस्तै विपन्न तथा सुत्केरी महिलालाई लक्षित गरेर नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । नागरिकलाई लक्षित गरेर तीनवटा एम्बुलेन्स सेवा दिने हिमा एकमात्र पालिका हो । एम्बुलेन्स घरदेखि स्वास्थ्य संस्थासम्म नि:शुल्क सेवा प्रदान गरिरहेको अध्यक्ष लक्ष्मण शाही बताउँनुहुन्छ ।
उहाँका अनुसार नागरिकको बिमा समेत गाउँपालिकाले गरिदिएको छ । ‘जनता हाँस्दा दन्त मिसाउने रूदै गर्दा आँशु मिसाउनेछौं । चुनावी प्रतिबद्धता अनुसार काम गर्नेछौं । सधै जनताको पक्षमा काम गर्नेछौं’ अध्यक्ष शाहीले भन्नु भयो ।
नि:शुल्क मोतिविन्दु शल्यक्रिया शिविर
यसैबीच हिमा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा मोतिविन्दु सम्बन्धि नि:शुल्क शल्यक्रिया शिविर सम्पन्न भएको छ । हिमा गाउँपालिकाको आयोजनामा तीन दिने मोतिबिन्दु सम्बन्धि नि:शुल्क शल्यक्रिया शिविर सम्पन्न भएको हो ।
शिविर असोज १५ गतेदेखि सुरू भएको थियो । आर्थिक अभावले आँखाको उपचार गर्नबाट बन्चित नागरिकलाई लक्षित गरेर सेवा सुरू गरिएको हो । उक्त शिविर वर्षको दुईपटक हुने गरेको छ । मोतिबिन्दुको उपचार गर्न नसकेका बिरामीहरूको निःशुल्क शल्याक्रिया गरिएको छ ।
सिंजा क्षेत्रमा रहेका तीन पालिकाका नागरिकलाई लक्षित गरेर शिविर आयोजना गरिएको हिमा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कुल एक सय नागरिकको राहतका लागि शिविरको आयोजना गरिएको हिमाका स्वास्थ्य शाखा संयोजक रतन बहादुर रावतले बताउनुभयो ।
शिविरको क्रममा ९५ जनाको आँखा जाँच गरिएको छ । ३५ जनाको शल्यायाक्रिया सम्पन्न भएको छ । हिमालय आँखा अस्पतालबाट शिविर प्रमुख शुवास नेपालको नेतृत्वमा आँखा विशषज्ञ डाक्टरको टोली हिमा पुगेको थियो ।
प्रतिक्रिया राख्नुहोस्