कालोपत्रे गरिएको चार वर्ष नबित्दै तम्घास-सिमलटारी सडक भत्किन थाल्यो
गुल्मी- गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडकखण्ड भत्किन थालेको छ । सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । तर अहिले विभिन्न ठाउँमा सडक भत्किएर जोखिम बन्दै गएको छ ।
कालोपत्रे भएको चार वर्ष पनि नबित्दै गुल्मीको मदन भण्डारी राजमार्ग अन्तरगतको तम्घास सिमलटारी सडक खण्ड जिर्ण बन्दै गएको छ । समयमै सडक हस्तान्तरण नहुँदा र सहायक सडक विस्तारको क्रममा जथाभावी गरिएका कारणले सडक जीर्ण बन्दै गएको हो । राजमार्गको विभिन्न स्थानमा सडक भत्किएको छ ।
कतिपय स्थानमा नालिमा घाँस उम्रिएर सडक जोखिम बन्दै गएको छ । जसले गर्दा राजमार्ग भएर आउ–जाउ गर्ने सवारी साधनहरुले सास्ती खेप्दै आएका छन् । चाडपर्व नजिकिएसँगै सडकमा चाप पनि बढन थालेको छ । तर सडक जीर्ण बन्न थालेसँगै जोखिम उत्तिकै बढदै गएको छ ।
बिरामीहरु लिएर रातको समय हिंड्दा निकै जोखिम बढ्दै गएको सवारी चालक प्रदीप जिसीले बताउनुभयो । उहाँले मुख्य राजमार्गका यस्तो अवस्था हुँदा सम्बन्धित निकायको ध्यान नजानु दुखद पक्ष रहेको बताउनुभयो ।
सडक जीर्ण बन्दै जान थालेपछि साना सवारी सधानहरुलाई समस्या पर्दै गएको अटो चालक केशव कुँवरले बताउनुभयो । राजमार्गमा यात्रा गर्दा जोखिम ठाउँमा ठूला सवारी सधानहरुले पेलेर आउँदा निकै जोखिम मोल्नु परेको कुँवरको भनाइ छ ।
राजमार्गको २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निर्माण सम्पन्न भएको थियो । तर सडक निर्माणको जिम्मा लिएको कालिका प्यासिफिक कम्पनीले ८ किलोमिटर सडक सम्पन्न गरेर नदिएकाले सो सडक हस्तान्तरण हुन नसकेको मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले जनाएको छ ।
सडक हस्तान्तरण नहुँदा मर्मत संभारमा समेत समस्या परेको कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद गौतमले बताउनुभयो । उहाँले कार्यालय र निर्माण व्यवसायी दुबै पक्षबीच मुद्दा चलिरहेकाले मर्मत गर्न समस्या पर्दै गएको बताउनुभयो ।
सडकमा बन्द नहुने गरी मर्मत भएपनि अरु साना ठूला मर्मत कार्यको लागि समस्या रहेको गौतमको भनाइ छ । सडकमा लेन्थ वर्कर राख्ने सम्बन्धमा पनि कार्यालयसँग बजेटको पनि समस्या रहेकाले निरन्तर राख्न नसकिएर कार्यालयले जनाएको छ । जसले गर्दा सडको नाली भरिएको, घाँस उम्रिएर समस्या पर्दै गएको छ । नाली सफा गर्नका लागि केहि दिनमै कामदार राख्ने योजनामा कार्यालय रहेको छ ।
सडकको रैदी राखेढुंगा, छल्दी लगायतका धेरै ठाउँमा सहायक सडक बिस्तारको क्रममा फालिएको माटोले कालोपत्रे सडक दिनहुँ जीर्ण बन्दै गएको हो । करिब एक अर्बको लागतमा लागतमा कालोपत्रे गरिएकोमा राजमार्ग भएर गुल्मी क्षेत्र नम्बर २ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारी साधान आउ-जाउ गर्दछन् ।
प्रतिक्रिया राख्नुहोस्