नीतिगत सुधारका लागि चिकित्सा शिक्षा ऐन संशोधन आवश्यकः स्वास्थ्यमन्त्री बस्‍नेत

मकवानपुर- स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन आवश्यक रहेको बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-६ मा नवनिर्मित सिद्धस्थली ग्रामिण सामुदायिक अस्पताल भवन उद्घाटन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधारका लागि ऐन संशोधन आवश्यक रहेको औंल्याउनुभयो ।

मन्त्री बस्नेतले चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न हालको ऐनमा भएका कमि कमजोरी संशोधन गर्नुपर्ने बताउनुभयो । ऐन संशोधनका विषयमा प्रधानमन्त्री सकारात्मक रहेको र ऐन संशोधन प्रक्रिया अगाडी बढेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्यमन्त्री बस्नेतले जनतामा सहज स्वास्थ्य सेवा पु¥याउने गरी सरकारले काम गरिरहेको बताउनुभयो । भौतिक संरचना निर्माण, स्वास्थ्य सामग्रीको व्यवस्थापन, स्वास्थ्य बीमा सुधार र आवश्यक दरवन्दी थप गर्न सरकार गम्भिरतापूर्वक लागिरहेको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा दरबन्दी कम भएकै कारण सोचे अनुरुपको सेवा प्रवाह गर्न नसकिएको स्वीकार गर्नुभयो ।

स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सक माथि आक्रमणका घटना बढीरहेको प्रति मन्त्रालय गम्भीर रहेको बताउनुभयो । ग्रामीण भेगका नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले देश तथा विदेशमा अध्ययन गरिरहेका नेपाली डाक्टरहरुको समूहले अस्पताल निर्माण गरेको हो ।

पाँच कारोड लागतमा निर्माण भएको अस्पताललाई निकट भविष्यमा “मुटु रोग उपचार” अस्पतालका रुपमा बिस्तार गर्ने लक्ष्य रहेको सिद्धस्थली ग्रामीण अस्पतालका संस्थापक डा.अवन गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.