राष्ट्रपति-परराष्ट्रमन्त्री भेट: इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति पौडेलको चासो
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपालीहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ता र मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गर्नुभएको हो ।
उहाँले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
त्यसैगरी राष्ट्रपति पौडेलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रपति पौडेलले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गर्नुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्