‘एक पालिका, एक हुलाक’को अवधारणा कार्यान्वयन गरिनेछ: मन्त्री शर्मा
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचना गर्ने क्रममा चालु आर्थिक वर्षबाट नै ‘एक पालिका, एक हुलाक’ अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको बताउनुभएको छ ।
विश्व हुलाक सेवा दिवसका अवसरमा आज डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पुर्याउने गरी सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीबमोजिम पुनःसंरचना गर्न लागिएको बताउनुभयो ।
“आवश्यक सार्वजनिक सेवाका रुपमा रहेको हुलाक सेवामुखी भावनाले सञ्चालन हुँदै आएको छ । मुलुकभर आफ्नो सेवा प्रवाह रहे पनि परम्परागतरुपमा अब हुलाक सेवा प्रभावकारी बनाउन सकिने अवस्था छैन”, मन्त्री शर्माले भन्नुभयो, “यसमा व्यापक सुधार ल्याउन सेवा प्रवाहलाई आधुनिक, भरपर्दो र प्रतिस्पर्धी बनाउने सरकारको लक्ष्य छ ।”
मन्त्री शर्माले हुलाक सेवामा प्रविधि, भौतिक पूर्वाधार र सङ्गठनात्मक पुनःसंरचनामसहित कार्यरत कर्मचारीको क्षमता विकाससहित सरोकारवालाबीच समन्वय गरी हुलाक सेवाको विश्वव्यापी सञ्चालनमा नेपाललाई थप सक्रिय सदस्य राष्ट्रका रुपमा उभ्याउन राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सहकार्य बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
सो अवसरमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समयसापेक्षितरुपमा हुलाक सेवालाई प्रभावकारी, विश्वसनीय र आधुनिक प्रविधियुक्त बनाउन सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिने विश्वास व्यक्त गर्नुभयो ।
हुलाक सेवा विभागका महानिर्र्देशक प्रदीपराज अधिकारीले परम्परागतरुपमा हुलाक सेवा सञ्चालन हुन नसक्ने अवस्थालाई ध्यान दिइ पुनःसंरचना र समयसापेक्षतामा अग्रसर हुन आफूहरु तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा हुलाक सेवामा योगदान दिने व्यक्ति र दीर्घसेवी कर्मचारीलाई सम्मान गरिएको थियो । यस वर्षको दिवसको नारा ‘विश्वासका लागि एकसाथ’ रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्