सहयात्रीमा नै शान्ति प्रक्रियाबारे नकारात्मक प्रवृत्ति देखियो: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखापरेको बताउनुभएको छ ।

द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारले ‘सङ्क्रमणकालीन न्याय प्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो’ विषयक राष्ट्रिय परामर्श भेला गरी निकालेको निष्कर्ष पत्र प्रधानमन्त्री निवास बालुवाटारमा बुझ्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “शान्ति प्रक्रिया टुङ्ग्याउने विषयलाई पेचिलो बनाउने तथा प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सकस पैदा गर्ने कोसिस भइरहेको छ । शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको छ ।”

प्रधानमन्त्री दाहालले विभिन्न चुनौतिबीच आफुले माओवादी जनयुद्धमा संलग्न र द्वन्द्वबाट पीडित भएका सबैका समस्या समाधन र उनीहरूका पिडा पक्ष विपक्ष नभनेर समाधानको प्रयास गरिराखेको उल्लेख गर्नुभयो । द्वन्द्व पीडित प्रहरीका परिवारलाई समेत आफुले भेटेको उहाँको भनाइ थियो ।

पछिल्लो पटक आफु संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा नेपालले भोगिरहेको समस्या र नेपालको शान्ति प्रक्रियाबारे विश्वको ध्यान आकर्षण हुने गरी महासभामा विषयको उठाउन गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र यसबाट विश्वले सिक्न सक्ने भन्दै महासभामा सम्बोधन गर्दा अन्तर्राष्ट्रियरूपमा नै तरङ्ग फैलिएको छ, महासभामा नेपालको शान्ति प्रक्रियालाई गम्भीर रुपले बलियोसँग राखिएको छ । यसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण मात्रै गरेको नभई बधाई र धन्यवाद दिनेको ताती नै लागेको थियो ।”

आफूले महासभामा नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्गो लगाउँदा त्यसले अन्तर्राष्ट्रिय जगतमा एउटा नयाँ उदाहरण प्रस्तुत गर्ने भएकाले सबैले नेपालको शान्ति प्रक्रिया टुङ्ग्गोमा पु¥याउन मद्दत गर्नुपर्ने धारणा राखेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको महासभामा आफूले महासचिव एन्टोनियो गुटेरेसलाई नेपालले जलवायु परिर्वतका कारण भोगेको समस्या र नेपालको शान्ति प्रक्रियाका साथै पीडितको कुरा सुन्न नेपाल भ्रमणको निमन्त्रणा दिएको उहाँले बताउनुभयो ।

महासचिव गुटेरेससँग नेपालको शान्ति प्रक्रिया र चुनौती बारेमा छलफल गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले उहाँको नेपाल भ्रमणले न्याय प्रक्रियाको टुङ्गो लगाउन, नेपालको शान्ति प्रक्रिया नजिकबाट हेर्न, नेपालले भोगिराखेको वातावरणीय समस्या तथा यसको प्रभावबारे बुझ्न मद्दत पुग्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “शान्ति प्रक्रियालाई राजनीतिक तहमा यसअघि भएका सहमति अनुसार टुङ्गोमा पु¥याउन निरन्तर छलफल गरिराखेको छु । राजनीति दलसँग टिआरसी विधेकमा सहमति जुटाएर एकमत कायम गर्न शान्ति प्रक्रियामा सहभागी सबै दल र अरूलाई पनि समेटेर लैजाने प्रयास गरिरहेको छु ।” शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन माओवादी केन्द्र र सरकार जस्तो इमान्दार प्रतिपक्षी दल नभएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.