थिमिमा कुभिण्डेजात्रा मनाइयो

भक्तपुर- मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा आज मनाइएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखेर सुरुभएको थियो । कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दशैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ ।
नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको थियो । आज एकादशीका दिन तीनजना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुखुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके र राजोपाध्यायसहितको संलग्नतामा जात्रा निकाल्ने गरिन्छ ।
बाजागाजासहित लायकूबाट ल्याइएको कुभिण्डोलाई बालकुमारीअगाडि कर्माचार्यले पूजा गरी थकाली (पमा) ले काटेका थिए । कुभिण्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुख शान्ति हुने र ती टुक्राले औषधिको समेत काम गर्ने जनविश्वास रहि आएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.