धादिङका तामाङ समुदायले ‘किर्पा’ खेलेर मनाए दसैँ (फोटो फिचरसहित)

धादिङ- जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नेत्रावती डब्जङ्ग गाउँपालिकास्थित सेमजोङमा तामाङ जातिको बाहुल्यता छ । यहाँ युगौँदेखि को तामाङ्गहरुको बाक्लो बस्ती छ ।

नेपालको पश्चिमी तामाङ भनेर चिनिने धादिङका तामाङहरु अन्य क्षेत्रका भन्दा अलिकति पृथक छन् । उनीहरु आफ्नै भाषा, धर्म, संस्कृति, भेषभूषा तथा रितिरिवाजका साथै इतिहासले सु-सज्जित छन् ।

धादिङ जिल्लाको सेमजोङलाई  तामाङहरुको ऐतिहासिक थलोको रुपमा पनि मानिन्छ ।  सेमजोङमा रहेको वाइवा राजाको डापजोङ दरबारको इतिहास किताब र इतिहासको पानामा भेटिँदैन । तर वाइवा राजा र डापजोङ दरबारले बेग्लै किसिमको इतिहास बोकेको छ ।

यस डापजोङ दरबारको निर्माण करिव ५०० वर्ष पहिले राजा तागुर र रानी सिलिङ्मोले गर्नुभएको प्रमाण यस क्षेत्रमा रहेको शिलालेखबाट थाहा हुन्छ ।

तत्कालिन वाइवा राज्यमा सबै तामाङहरु मात्र भएको र उनीहरुले  कृषि पेशा नगरी वन्यजन्तुको शिकार गर्थे ।

जंगलमा गिठ्ठा भ्याकुर खोज्थे। आफ्नो राजालाई शिकार गर्ने मेसो मिलाइदिन वन्यजन्तुहरु जंगलबाट छेकेर दरबारको वरिपरि ल्याइदिने गर्थे । जुन दरबारको भाग्नावशेष अहिले पनि छ । तर संरक्षणको अभावमा दिन दिनै जिर्ण हुँदै गएको छ । राजाले जनावरलाई आफ्नो धनुवाणले मारेपछि सबै राजा र प्रजा मिलेर रमाइलो गर्ने गर्थे ।

राजा धनुवाणमा निकै निपूर्ण थिए । राजारानीका चार भाइ छोराहरु थिए ।

नेपाल एकिकरणको क्रममा राजा पृथ्वीनारायण शाहले आक्रमण गर्ने क्रममा तीन भाइ छोराहरु आक्रमणमा मारिए । एक भाइ भागेर पश्चिमतिर लागे । पृथ्वी नारायण शाहको आक्रमण पश्चात वाइवा राजाको वंशजहरु दरबार छोडी हालको सेमजोङको गैरा गाउँमा बस्दै आएका थिए ।

राजारानीको नाति राजकुमार छेवाङका आठ भाइ छोराहरु र एक छोरीको जन्म भएको थियो । राजारानी हजुरबा, हजुरआमाको निधन भएपछि राजकुमार छेवाङले आफ्नो बाजेको पुराना दरबारबाट केहि पूर्वमा बाजे-बज्यैको सम्झनामा दुईवटा मानेहरु बनाएका रहेछन् । सो माने अहिले पनि देख्न सकिन्छ ।

छेवाङले पनि आफ्नो निधनपछि माने बनाउनुपर्छ भनी छोराछोरीहरुलाई भनेको हँदा छोराछोरीहरुले आफ्नो बुबाको सम्झनामा माने बनाए । त्यो माने बनाउनको लागि प्रत्येक छोराछोरीको तर्फबाट एक–एक मुरी धान भुटेको मकैको फूल, लट्टेको फूल गरी जम्मा नौ-नौ मुरी र दूध, दहि, नौनी, घ्यू गरी नौ-नौ पाथी जम्मा पारी होमा नामको माने बनाए । त्यो माने अहिले पनि छ । प्रत्येक बाह्र वर्षमा त्यहाँ भव्य मेला लाग्ने गर्दछ ।

सो माने ह्यापेङ खोलाको ढुङ्गा ल्याएर बनाएको भन्ने बुढापाकाहरुको भनाइ छ । अहिले पनि त्यो मानेको ढुङ्गा टुट्फुट भएमा वा मानेमा भएको पाँच बुद्धको मुर्तिहरु टुट्फुट भएमा वाइवाहरुको ज्वाइँ चेलाको उपस्थितिमा ह्यापेङ खोलाको ढुङ्गा ल्याएर मर्मत गर्ने गरिन्छ ।

यिनै वाइवा राजासँग जोडिएको अर्को पाटो हो, प्रत्येक आश्विन शुक्लपक्ष दशामीका दिन किर्पा क्लाङबा धनुषबाँण अर्थात तारो हानेर खेल्ने खेल । यसले शिकार खेलेको प्रतिबिम्वित गरी अग्रज पूर्खाहरुलाई स्मरण गर्ने उनीहरुको भनाइ छ ।

किर्पा परिचय

पूर्खौँदेखि चलिआएको किर्पा परम्पराले तामाङहरुको जिउँदो इतिहास बोकेको छ । बितेका पुर्खाहरुलाई सम्झँदै ऐतिहासिक र सांस्कृतिक्र परम्परालाई प्रतिविम्वित गर्ने यो खेलमा एक व्यक्तिलाई कुकुरको भूमिका दिइन्छ भने गाउँको मूखियाले राजाको भूमिका निभाउँछन ।

गाउँका युवाहरुले जनताको भूमिकामा मृग, हरिण जस्ता वन्यजन्तुको सट्टा फर्सी ल्याएर राख्छन्।

शिकारीहरु कुकुर लिएर राजाको घरबाट शिकार खेल्न निस्कन्छन् । यसमा सत्य के भने तत्कालिन वाइवा राजाको पालामा राजाले प्रयोग गर्ने गरेका बज्रवाणलाई पनि शिकार खेल्ने ठाउँसम्म लाने गरिन्छ । सो वाँणबाट मारिएको शिकारको मासुको रुपमा प्रत्येक घरघरमा फर्सीको टुक्रा पठाउने चलन छ ।

त्यसपछि गाउँका सबै जम्मा भएर हालको गाउँको मुखियाको घरको आँगनमा रमाइलो गर्छन् ।

साथै तीर हानेर कसले निसाना लगाउने भनेर प्रतिस्पर्धा हुन्छ ।

पृथ्वीको उत्पतिदेखि हालसम्मको कथा बोमसाङ गाथामा सुनाउँदै माने वरिपरि नाच्ने चलन छ ।

किर्पा क्याङ्बा देखिँदा साधरण खेलजस्तो देखिएता पनि यसले जिउँदो इतिहास बोकेको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.