‘राष्ट्रसङ्घका महासचिवले लुम्बिनीबाट विश्वशान्तिको कामना गर्नु ऐतिहासिक’

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण बहुआयामिक महत्वको रहेको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले महासचिव गुटेरेसले बुद्धको जन्मभूमि लुम्बिनीबाट विश्वशान्तिको कामना गर्नु ऐतिहासिक रहेको बताउनुभयो ।

“बुद्धका बारेमा कहीँकतै दुराशययुक्त ढङ्गले प्रश्न उठाउन खोजिएका बेलामा महासचिव गुटेरेसले बुद्धको जन्मभूमिबाटै विश्वशान्तिको अपिल गर्नु गौरवको विषय हो”, प्रवक्ता सापकोटाले भन्नुभयो ।

जलवायु परिवर्तनको असर र प्रभाव बढिरहेका सन्दर्भमा महासचिव गुटेरेस सगरमाथा क्षेत्रमा पुगेर त्यहाँका स्थानीयसँग अन्तक्र्रिया गर्नुभएको तथ्यलाई विश्वसमुदायले नजिकबाट नियालेको उहाँको भनाइ छ ।

प्रवक्ता सापकोटाले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पनि महासचिवको भ्रमणले दलहरुलाई सघाएको बताउनुभयो । “शान्ति प्रक्रियाका धेरै विषय टुङ्गो लागेका छन् । सबै पक्षलाई विश्वासमा लिएर यसलाई निष्कर्षमा पुर्‍याउनका लागि महासचिवको भ्रमणले योगदान गरेको छ”, उहाँले भन्नुभयो ।

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सबै राजनीतिक दलप्रति संवाद भइरहेको जानकारी दिँदै प्रवक्ता सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल र प्रमुख विपक्षी दलका नेतासँग पनि सो विषयमा छलफल गरिरहनुभएको बताउनुभयो । “तीन दलका शीर्ष नेताबीचको छलफल निकै सकारात्मक छ”, उहाँले भन्नुभयो, “उहाँहरुका बीचमा १२ बुँदे सम्झौताका पक्षधरका बीचमा समीक्षासहितको बैठक बस्नुपर्ने सहमति जुटेको छ ।”

मुलुकलाई पछाडि फर्काउन सकिन्छ कि भनेर केही शक्ति लागिपरेको सन्दर्भप्रति टिप्पणी गर्दै प्रवक्ता सापकोटाले भन्नुभयो, “इतिहासको चक्का पछाडि फर्कंदैन । यो अगाडि बढ्यो । परिवर्तनका पक्षधरले राष्ट्रिय दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.