ढकमक्क फूलले सजिए गाउँले बस्ती (फोटोफिचर)

धनकुटा- नेपालीहरुको दास्रो ठूलो पर्व तिहार आउन अब एक हप्ता मात्रै बाँकी छ।

तिहार आउन लागेसँगै धनकुटाका गाउँघर ढकमक्क फूलले सजिएका छन। दसैँ लगतै गाउँघर फूलेको फूलहरुले गाउँघर ढकमक्क भएका थिए।

फूल फूलेर गाउँशहर नै बेहुली झैं सिंगारीएका छन। पञ्चाङ्ग अनुसार कहिले अघि त कहिले पछि तिहार आउने गरेको छ। त्यसकारण कहिले फूल नफूल्दै तिहार आउँछ भने कहिले फूल फक्रि सकेपछि आउने गरेको छ। यो वर्ष भने विगतका वर्षहरु भन्दा केही ढिलो मात्र तिहार आउने भएको छ। तर, जे भएपनि तिहारमा चाहिने पहिलो कुरा नै फूल हो भन्दा फरक नपर्ला।

घरघरमा भएका फूलबारी, बारीका कान्ला, खेतका आली, घरको आँगन, डिलहरुमा फूल फूलेर रातै पहेँलै भएका छन। यो वर्षको तिहार केही ढिलो भएका कारण कतै कतैका फूलहरु सुक्न थालेका छन।

 

लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस या पसल, कार्यालय, व्यावसायिक स्थल सिंगार्न फूलको माग उच्च हुने गर्दछ। त्यस्तै भाईटिकाका दिन दिदीबहीनीले आफ्ना दाजुभाईलाई टिका लगाइदिएर गलाभरीको सयपत्री र मखमलीको माला लगाइदिनुको पनि छुट्टै महत्व रहेको छ।

फूलबाट लाखौँको आम्दानी

तिहारमा पूर्वका अधिकांश ठूला सहरको मागलाई धान्ने सयपत्री फूल उत्पादन गर्दै आएका धनकुटाका कृषकले यसपटक पनि लाखौं मूल्यको फूल बिक्रीका लागि तयारी अवस्थामा छन।

विशेष गरि धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा फूलको व्यावसायिक खेती गर्ने गरिएको छ। ती स्थानहरु यति बेला सयपत्री फूलले ढाकेर ढकमक्क बनेका छन। सो क्षेत्रका करिब एक सय कृषकले व्यावसायिक सयपत्री फूलको खेती गरेर त्यो फूल बिक्रीबाट मनग्गे आम्दानी हात पार्दै आएका छन।

मखमली र सयपत्रीबाट यथेष्ट आम्दानी हुने भएपछि अधिकांश किसान अहिले यसतर्फ आकर्षित भएका छन। यहाँका किसानले धानखेतीबाट भन्दा बढी आम्दानी हुने भएपछि खेतको आली, डिलमा र मकैसँगै बारीमा फूलखेती गर्ने गरेका छन। पाखो बारीमा रोपिने सयपत्रीलाई अन्य बाली जस्तै मेहनत गर्न नपर्ने भएपछि यसतर्फ किसान आकर्षित भएका हुन।

जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्मै टिप्न सकिन्छ। फूल बिग्रिएन भने एक याममा प्रति रोपनी जग्गाबाट रु ७० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्न सकिन्छ। तर पछिल्लो समयमा किसानले धेरै उत्पादन गर्ने लोभमा विषादीको प्रयोग गर्न थालेपछि फूल उत्पादन घट्दै गएको कृषकको भनाइ छ। पितापुर्खाको पालादेखि सयपत्री खेती गर्दै आएका धनकुटा नगरपालिका वडा नं. ५ कर्मीटारका किसान गोविन्द श्रेष्ठले सयपत्री बिक्री गर्न बोकेर बजार धाउनु नपर्ने भएपछि कृषकलाई सहज भएको बताउनु भयो।

 

५ रोपनी जमिनमा फूल खेती गर्दै आउनु भएका उहाँले बारीमा नै व्यापारीले अग्रिम बुकिङ गर्दै रकम उपलब्ध गराउने गरेको बताउनु भयो। तर, भारतिय फूल र कृतिम फूलका कारण बजारमा समस्या हुँदै आएको श्रेष्ठले बताउनु भयो।

यस्तै ६ रोपनी क्षेत्रफलमा फूल खेती गर्नुभएका महालक्ष्मी नगरपालिका ३ डाँडागाँउका नितेश निरौलाले यस वर्ष भने फूल बिक्रीबाट २ लाख रुपैयाँसम्म आम्दानी लिने आशा गरेको बताउनु भयो। गत वर्ष १९ हजार आम्दानी लिनु भएका निरौलाले यस वर्ष फूल खेतीलाई विस्तार गरी व्यवसायिक खेती गर्नुभएको हो।

गाउँमै पहिलो पटक यति धेरै क्षेत्रफलमा फूलखेती निरौलाले गरेसँगै फूलखेतीमा यहाँका युवाहरुको मन तानेको छ। विगतमा कृषि प्राविधिक काम गर्दै आएका उहाँले रोजगारी छाडेर घरैमा व्यवसायिक रुपमा कृषि पेशालाई अगाल्नु भएको हो।

फूलखेतीबाट राम्रो आम्दानी लिन सकिने भएको र युवाहरु विदेशमा गएर श्रम गर्नु भन्दा खालि तथा बाँझो जमिनमा खेती गर्न हो भने राम्रो उत्पादन गर्न सकिने निरौलाको भनाइ छ। यहाँ उत्पादित फूल धनकुटा सहित धरान, इटहरी, विराटनगर, सप्तरी, सिरहा लगायतका बजारमा पुग्ने गरेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.