चार वर्षपछि कोरला नाका खुल्यो

म्याग्दी- मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका चार वर्षपछि खुलेको छ । नाका उद्घाटन कार्यक्रममा नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रदेश सांसद नम्बु गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो ।

चीनको धोङवासेन काउन्टी पार्टी सचिव साओएई, काउन्टी म्याजेस्ट्रेड लुवु सिरेन, सहायक काउन्टी तहका सबै कार्यकर्ता, कस्टम्स भन्सार, सीमा निरीक्षण, परराष्ट्र मामिला कार्यालय, जन सुरक्षा ब्यूरो, वाणिज्य ब्यूरो, सीमा नियन्त्रण र बन्दरगाह व्यवस्थापन समितिका अधिकारीहरुको उपस्थितिमा सोमबारदेखि नाका खोलिएको हो ।

दुवै सररकारका प्रतिनिधिको उपस्थितिमा नाका खोलिएको हो । कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चीनले लोमान्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई एक लाख किलोग्राम खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले बताउनुभयो ।

लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रका आधारमा आवतजावत गर्न थालेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को असोज पहिलो साता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो ।

मुस्ताङ र चीनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुबीच नाका सञ्चालन र व्यवस्थापनका विषयमा चारपटक वार्ता भएको थियो । कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो ।

कोरला नाका सञ्चालनको तयारीका क्रममा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजारजना सर्वसाधारणलाई ‘नेपाल चीन सीमा क्षेत्रका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र’ वितरण गरिएको छ ।

“प्रवेशपास भएका नागरिक जुनसुकै समयमा पनि चीन जानेआउने सुविधा पाउनेछन्,” प्रजिअ पन्तले भन्नुभयो, “कोरला नाकाको नजिकै नेपाली भूमिमा अस्थायी संरचना बनाएर सुुरक्षाकर्मीको नियमित उपस्थितिको व्यवस्था मिलाइएको छ ।”

नेचुङ सशस्त्र प्रहरी बलको (विओपी)को भवन निर्माण भएको छ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ ।

सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो ।

विसं २०५८ सम्म रोकतोक नरहेको सीमा २०५९ सालदेखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । मुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाएका लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिनुभयो ।

लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहवरमा दुई दिनअघि चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा पाँचवटा प्रिफेव कन्टेनर जडान गरिएको छ । कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन् । नेपालमा थिएन ।

चार हजार मिटरभन्दा बढी उचाइको नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुरोधमा चीनले प्रिफेव कन्टेनर उपलब्ध गराएर जडान गरिएको हो । चारवटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन् ।

चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरला नाका जाने पर्यटक प्रतिकूल मौसम हुँदा आश्रय लिन सक्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.