दिल्लीमा कृत्रिम वर्षा गराउन अनुमतिको पर्खाइमा दिल्ली सरकार

काठमाडौं- भारतको राजधानी नयाँ दिल्ली विगत केही सातादेखि वायु प्रदुषणको ठूलो समस्या झेलिरहेको छ । यसै सन्दर्भमा दिल्लीका वातावरण मन्त्रीले प्रदुषणको स्तर घटाउन कृतिम वर्षा गराउने प्रविधिको विकास गर्ने बारेमा विचार गरिरहेको बताउनु भएको छ ।

दिल्ली सरकारको योजना सफल हुन सर्वोच्च अदालतका साथै धेरै संघीय मन्त्रालयको स्वीकृति आवश्यक हुन्छ । यदि त्यसो भएमा मौसमी अवस्था हेरेर कृतिम वर्षा गराउने योजना यो महिनाको अन्त्यबाट लागू हुनसक्ने बताइएको छ ।

दिल्लीमा लाग्ने बाक्लो तुवाँलो मुख्य समस्याका रुपमा हेरिएको छ । दिल्लीमा वायु प्रदूषणको सम्भावित समाधानको रूपमा कृतिम वर्षा अर्थात् क्लाउड सीडिङको सुझाव दिइएको यो पहिलो पटक भने होइन । केही विज्ञहरूले भने यो प्रविधि जटिल र महँगो भएको बताएका छन् ।

तर दिल्लीको प्रदूषणले सर्वसाधारणको घाँटी नै थिचेर विश्वव्यापी हेडलाइन बनाइरहँदा राजनीतिक नेताहरू समाधानको लागि उदासिन देखिएका छन् । विगत दुई सातामा वायुको गुणस्तर तोकिएको मापदण्डभन्दा १० गुणा खराब भएको छ ।

केही दिन अघि भएको सानो वर्षाले प्रदुषण केही कम गरेको थियो । तर दिवाली पर्व मनाउने क्रममा गरिएको आतसवाजी र पटाकाको धुँवाले हिजोदेखि फेरि वायुको गुणस्तर खतरनाक भएको छ । प्रदुषणकै कारण दिल्लीका विद्यालयमा जाडोको बिदा अगाडि सारिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.