अञ्जली दिदीले २०० जनालाई भाइटीका लगाइन्

काठमाडौँ-  २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आउनुभएका अञ्जली दिदीले आज करिब दुई सय बढी दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिनुभयो ।
दिदीसँग टीका लगाउन विभिन्न उमेर समूहका दाजुभाइ काष्ठमण्डपको मरु सत्तलमा भेला हुनुभएको थियो । काष्ठमण्डपमा सामूहिक टीका लागि एक सय ५० बढी मण्डप बनाइएको अञ्जलीले जानकारी दिनुभयो । दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भनेर आफूले तिहारको टीका लगाइदिएको उहाँको भनाइ छ ।
आफूले यही स्थानमा निरन्तर २५ वर्षदेखि सामूहिक भाइटीका लगाइदिँदै आएको जानकारी दिँदै दिदीले यस वर्ष पनि उही सम्मान, माया र निःस्वार्थ भावले टीका लगाइदिन पाउँदा अत्यन्त खुसी भएको बताउनुभयो । अञ्जली दिदीले २५ वर्षसम्म निरन्तर आफूसँग तिहारको टीका लगाउने दाजुभाइलाई विशेष उपहार प्रदान गर्नुभएको थियो ।
काठमाडौँको मरु निवासी नरेश श्रेष्ठ अञ्जली दिँदीसँग सप्तरङ्गी टीका लगाउन पाउन प्रशन्न हुनुहुन्थ्यो । उहाँले तिहारमा निधार खाली तथा मन खल्लो नहोस् भनेर अञ्जली दिदीसँग टीका लगाउन आएको बताउनुभयो । मण्डपमा बसेका दाजुभाइलाई अञ्जली दिदीले सप्तरङ्गी टीका, माला र सगुन प्रदान गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.