इजरायल र हमासबीचको बन्दी साटफेर र युद्ध विराम सम्झौता स्थानीय समय अनुसार आजबाट लागू हुँदै
सम्झौता बमोजिम हमासले बन्दी बनाएका ५० जनालाई रिहा गर्ने

इजरायल र हमासबीच भएको बन्दी साटफेर र युद्ध विरामको सम्झौता आजबाट लागू हुनेछ । इजरायली अधिकारीहरुका अनुसार सम्भवत शुक्रबारबाट बन्दी रिहाई शुरु हुनेछ । सम्झौतामा उल्लेखित व्यवस्थामा तलमाथि नभएमा पहिलो बन्दी रिहा आजै हुने अनुमान गरिएको छ ।
युद्धरत इजरायल र हमासबीच भएको सम्झौता बमोजिम हमासले बन्दी बनाएका ५० जनालाई रिहा गर्ने उल्लेख छ । त्यसको बदलामा इजरायलको जेलमा रहेका १ सय ५० जना प्यालेस्टायनीलाई रिहा गर्ने र चार दिन युद्ध विराम गर्ने सम्झौतामा उल्लेख छ । इजरायलले गाजामा आफ्नो स्थल तथा हवाई अपरेसन जारी राखेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासमाथि पूर्ण विजयको बाचा गर्नुभएको छ । गत अक्टोबर ७ मा हमासले इजरायलमा अचानक आक्रमण गरेपछि १ हजार २ सय जनाको मृत्यु भएको थियो भने २ सय ४० जनालाई बन्धक बनाएको छ । इजरायलले हमास विरुद्ध शुरु गरेको जवाफी कारवाहीमा ५ हजार बढी बालबालिका सहित १४ हजारभन्दा बढी प्यालेस्टायनीको मृत्यु भएको छ ।
गाजालाई युनिसेफले बालबालिकाका लागि सबैभन्दा घातक स्थानका रुपमा व्याख्या गरेको छ ।।






प्रतिक्रिया राख्नुहोस्