छायाँनाथ रारा नगरपालिकाद्वारा पहिलो पटक नगर बस सेवा संचालनमा
मुगु- मुगुको छायाँनाथ रारा नगरपालिकाले पहिलोपटक आफ्नो नगर क्षेत्रभित्र सर्बसाधरणका लागी नगर बस सेवा संचालनमा ल्याएको छ । नगरपालिकाले ८४ लाख रुपैयाँमा दुई वटा बस खरिद गरी आफ्नो नगर क्षेत्रका केही स्थानरुमा पहिलो पटक सर्बसाधरणका लागी
नगर बस संचालनमा ल्याएको हो ।
नगरपालिकाभित्रका ३४ रुटमध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट आठ वटा रुटमा नगर बसले सेवा दिने नगरपालिकाकले जानकारी दिएको छ । छाँयानाथ रारा नगरपालिका –१४ बाम गाँउसम्मको २२ किलोमिटर सम्मको रुटमा बिहिबार एक कार्यक्रमका बिच औपचारीकरुपमा उद्घाटन गरिएको हो ।
छाँयानाथ रारा नगरपालिकाको १४ वडाका ८७ बस्तिमध्ये दुई बस्तिमा अझै सडक पुगेको छैन । अन्य सबै बस्तिमा सडक पुगेको भएपनी सर्बसाधरणले सहुलिएत दरमा यातायात गर्न पाएका थिएनन् ।
नगरपालिकाले पहिलो पटक नगर बस मार्फत सुहलिएत दरमा यातायात सेवा दिन सुरुवात गरेपछी सर्बसाधरणलाई राहत हुने स्थानियले बताएका छन् । सडक जोडिएका बस्तिहरुमा भाडामा सेवा दिदै आएका जिपहरुले मनपरी भाडा असुल्दै आएका थिए ।
गमगढीदेखी बाम गाँउसम्म भाडा जिपहरुले प्रति ब्यक्ति एकतर्फी ६ सय रुपैया भाडा लिने गरेका छन् । नगरपालिकाले आफ्नो सेवामार्फत प्रति ब्यक्ति ३ सय र अपाङ्गता भएका ब्यक्ति र जेष्ठ नागरिकहरुलाई नगरबस सञ्चालन कार्यबिधी अनुसार भाडामा छुट हुने छाँयानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पशुपति शाहीले जानकारी दिनुभयो ।
नगरबस सञ्चालनमा आएपछि दुईतर्फी भाडा ६ सय रुपैयाँमा आवतजावत गर्न मिल्ने भएपछि स्थानिय हर्षित भएको छाँयानाथ रारा नगरपालिका–१४ का तिलक बुढा बताउनुहुन्छ ।
बाम गाँउ स्याउ र पर्यटकको हवका रुपमा पहिचान भएको गाँउ हो । यहाँ धेरै कुण्ड चंखेली हिमाल लगायत पर्यटकीय स्थलहरु छन् । यहाँ घुम्न बाहिरका मान्छे समेत आउने भएपछि यहाँका सर्बसाधरणहरुको आर्थिक स्थितिमा केही सुधार हुने सोही वडाका चन्द्र बुढाको भनाइ छ ।
एक डोको स्याउ बेच्न सदरमुकाम पुग्नुपर्छ । एक डोको स्याउ बेचेर १२ सय आम्दानी हुन्छ । त्यही आम्दानी भएको रकम आउँदा-जाँदा गाडी भाडा तिरेर रित्तै घर फर्किनुपर्ने अवस्था थियो । नगरपालिकाले सहुलियतमा नगरबस सेवा ल्याएपछि स्याउ बेचेर केही रकम बचाएर घर ल्याउन सकिने स्थानियको भनाइ छ ।
नगरबस सञ्चालनमा आएको यो सडक खण्ड सदरमुकाम गमगढी र छिमेकी जिल्ला हुम्ला जोड्ने सडक हो । यो सेवाबाट मुगुका सर्बसाधरण मात्र नभई हुम्ला जिल्लाका स्थानियले समेत सेवा पाउनेछन् ।
प्रतिक्रिया राख्नुहोस्