बढ्दो युवा पलायन र त्यसले निम्ताएका समस्याहरु

गुल्मी- मानव सभ्यतामा पलायन एक समान्य प्रक्रिया हो । मानिसहरु अवसर, आर्थिक अवस्था, खाद्यान्नको अभाव, शिक्षा, धर्म, स्वास्थ्य, युद्ध तथा बिबिध कारणहरुले गर्दा पलायन हुन्छन् ।

अहिलेको अवस्थामा नेपालमा केही सालको अन्तरालमा १८ लाख नेपालीहरु राम्रो रोजगारी र शिक्षाका लागि खाडी मुलुकदेखि पश्चिमी बिकसित मुलुकसम्म पलायन भएका छन् । त्यस बाहेक हाम्रो छिमेकी देश भारतमा मात्र लाखौं नेपालीहरु श्रम बेचिरहेका छन् ।

भनिन्छ नेपालको ८० लाख भन्दा बढी नागरिकहरु नेपाल भन्दा बाहिर रोजगारी र राम्रो अवसरको खोजीमा संसारभर फैलिएका छन् । नेपालबाट अवसरको खोजीमा पलायन हुनु कुनै नयाँ कुराचाँही होइन, नेपालीहरु परापूर्वकालदेखि नै अवसरको खोजीमा पलायन हुँदै आएका छन् ।

जस्तै ब्रिटिश लाहुरे, भारतीय लाहुरे, म्यानमारसम्म नेपाली समाजहरु छन् । रोजगारीको अवसर नहुनु, भ्रष्टाचार, नातावाद कृपावाद, सीप र योग्यताअनुसारको अवसर नपाउनु र बिबिध कारणले गर्दा पछिल्लो समय धेरै युवाहरु बैदेशिक रोजगारीमा पलायन भएका छन् ।

युवा पलायनले शिक्षा, स्वास्थ्य, समाज र अर्थतन्त्रमा ठूलो नकारात्मक असर परेको छ । यस लेखमार्फत मैले हाम्रो स्थानीयस्तरमा देखिएको असर र त्यसले निम्ताएका सामाजिक तथा आर्थिक सम्सस्यहरुको बारेमा प्रकाश पर्ने कोसिस गर्ने छु ।

अहिलेको युवा पलायनले सबैभन्दा ठुलो समस्या निम्ताएको भनेको नै प्रतिभा पलायन (ब्रेन ड्रेन) हो “नेपालमा केहि हुदैन” भन्ने एक किसिमको नकारात्मक भाष्य निर्माण भएको छ्र “यहा गरेर पनि केहि हुदैन किन गर्न पर्यो र ?” भनेको अहिले जहाँ कही सुनिन्छ ।

यही भाष्यका कारण शिक्षित तथा सीप भएका युवाहरुको प्रतिभा पलायन बढिरहेको छ र यसको असर हाम्रो स्थानीय अर्थतन्त्रमा परेको छ । अहिले होटेल ब्यवसायहरु, ब्यापारीहरु तथा उद्यमीहरूलाई सिपालु कामदारहरुको ठुलो अभाव छ ।

यता रोजगारी पाएनौं भन्ने तेस्तै धेरै छन् भने बजारमा ब्यवसायहरु सिपालु कामदारहरु नपाएर व्यवसाय नै धरापमा परेको गुनासो गर्दैछन् । सिपालु तथा दक्ष कामदारहरुको कमीले हाम्रो स्थानीय अर्थतन्त्र वृद्धि हुन सकेको छैन भने दक्ष कामदारहरु बनाउनका लागि चाहिने दक्ष प्रशिक्षकहरुको पनि कमी भएको देखिन्छ ।

प्रतिभा पलायनका कारण अहिले समाजमा बालश्रम फस्टाएको छ । यसका उदाहरणहरु हाम्रो वरिपरी चलिरहेको होटेल व्यवसाय, उद्योगहरु, निर्माण र अन्य व्यवसायमा बिपन्न तथा गरिब परिवारका बालबालिकाहरुलाई देख्न सकिन्छ ।

युवा पलायनले निम्ताएको अर्को ठुलो समस्याका रुपमा पूंजी पलायनलाई लिन सकिन्छ । युवा पलायन हुँदा प्रतिभा मात्र नभएर पूँजी पनि पलायन हुन्छ । जस्तो कि पछिल्लो समय हाम्रै स्थानीय स्तरमा युवाहरु र व्यवसायीहरु बुटवल, काठमाडौं लगायत सहरहरुमा पलायन हुँदा ठूलो धनरासी उनिहरुसँगै पलायन भएको छ । जुन पूँजी यहीँ ठाउँको आर्थिक तथा सामाजिक वृद्धि र विकासमा प्रयोग हुन सक्थ्यो त्यो सबै पलायन भएको छ ।

रेसुंगा नगरपालिका मात्र १ हजार ७ सय व्यवसायी दर्ता भएको ठाउँमा अहिले घटेर १ हजार ३५० मा झरेको तथ्यांकले देखाएको छ । अरु गाउँपालिकहरुको अवस्था पनि त्यस्तै दयनीय छ । त्यस अतिरिक्त वैदेशिक रोजगारीमा जाँदा हुने पूँजीगत खर्चको कुनै हिसाब किताब राखिएको छैन, हजारौ यूवाहरु ऋणधन गरी बैदेशिक रोजगारीमा जाँदा अर्बौ रुपैया बाहिरिएको छ । यो समस्याले आर्थिक वृद्धिमा संकुचन ल्याउनुका साथै नयाँ व्यवसाय र रोजगारीमुलक कार्यक्रमहरु घटाएको छ ।

युवा पलायनका कारण स्थानीय उत्पादन घटिरहेको छ, उदाहरणका लागि कुनै समय इस्मा, धुर्कोट, मालिका गाउँपालिका लगायतका ठाउँहरुमा उत्पादित कृषि जन्य उत्पादन तम्घास बजारमा ल्याएर खरिद बिक्रि गरिन्थ्यो । अहिले दैनिक चाहिने किराना तथा कृषि उत्पादन पनि बुटवल तथा तराईका शहरबाट ल्याएर गाउँगाउँ पठाइन्छ ।

गुल्मीमा मात्रै हजारौं हेक्टर कृषिजन्य जमिनहरुमा आंशिक खेती गरिन्छ भने वर्षको धेरै जस्तो समय ती जमिनहरु बाँझो र खाली रहन्छन् । कृषि, जंगल, खोला तथा पर्यटन उत्पादनको प्रचुर सम्भावना हुँदाहुदै पनि हामी पछि परेका छौ ।

अर्को भाषामा, हामी सुनको कटौरा थापेर भिक माग्नुपर्ने अवस्थामा पुगेका छौ, स्थानीय उत्पादनमा ह्राश आउनुको सिधा असर स्थानीय अर्थतन्त्रमा पर्न जान्छ, यसले पूँजी पलायनमा बल पुराउनुका साथै स्थानीय तहको बाह्य निर्भरता बढाउँछ जसले कालान्तरमा युवा पलायन नै बढाउँछ ।

युवा पलायनको नकारात्मक असर शिक्षा र स्वास्थ्य क्षेत्रमा परेको छ । पलायनले गर्दा स्थानीय विद्यालयमा दक्ष र युणस्तरीय शिक्षकहरुको अभाव देखिएको छ । विद्यार्थीहरुको मनोबल घटेको पाइएको छ । जति उच्च शिक्षा हासिल गरेपनि अन्तिममा विदेश नै जानुपर्ने रहिछ भन्ने मनोवृति विकास भएको छ । जसको फल स्वोरुप धेरै विद्यार्थीहरु (SEE) पछि आफ्नो शिक्षा छोड्ने गरेको पाइएको छ ।

उच्च शिक्षा प्राप्त गरेका विद्यार्थीहरु पनि अवसर नपाएर विदेश नै पलायन हुने गरेका छन् । त्यसैले अहिले हाम्रो शैक्षिक गुणस्तर खस्किएको छ । हाम्रा स्थानीय तहमा सरकारी बिद्यालयहरुमा निम्न वर्गका जनताले उच्च शिक्षा प्राप्त गर्दैनन् र बालश्रममा पनि यहीँ वर्गले ठूलो हिस्सा लिएको छ ।

स्वास्थ्य जस्तो संबेदनशील क्षेत्रमा पनि अहिले दक्ष जनशक्तिको ठुलो अभाव भएको छ । अहिले (MBBS) गरेका डाक्टरहरु, नर्सहरु विकसित मुलुक जस्तै अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानाडा लगायतका मुलुकहरुमा पलायन हुने क्रम बढिरहेको छ ।

हाम्रै स्थानीय जिल्ला अस्पताल पनि डाक्टरहरुको अभाव खेपिरहेको छ । गरिव जनताहरुलाई सामान्य रोग जस्तै रुघाखोकी लाग्दा पनि नजिकको शहर जान बाध्य भएका छन् । जसले गर्दा उपचार गराउन झन महँगो भएको छ । बढ्दो राजनीतिक हस्तक्षेप र दक्ष जनशक्तिको कमीले गर्दा हाम्रो स्वास्थ्य क्षेत्र नै धरापमा परेको छ ।

कुनै पनि सरकारका गलत नीति तथा कार्यक्रमहरु बिरुद्ध बोल्न र बिरोध गर्न युवा शक्तिको ठूलो भूमिका हुने गर्दछ । हाम्रै संसदमा पनि सरकारलाई धेरै प्रश्न गर्नेहरु पनि यूवाहरु नै छन् । तर अहिलेको पलायनको अवस्थामा विदेश जानेदेखि काममा पुग्दासम्म भ्रष्टाचार सहनुपर्ने अवस्था छन् ।

नातावाद, कृपावाद र आफ्नैलाई मात्र पोस्ने प्रवृत्तिले युवाहरु अवसर नपाउने र पलायन हुने गरेका छन् । स्थानीय सरकारको पनि युवाप्रतिको ब्यवहार रुखो रहेको छ । युवाहरुको स्तरोन्नतिका लागि चाहिने भौतिक पूर्वाधार जस्तै खेल मैदान, अनुसन्धान केन्द्र, मिलन केन्द्र तथा काउन्सिलिङ सेन्टर निर्माण तथा विकासमा न्यून बजेट छुटाएको पाइएको ।

युवाहरुलाई व्यवसायिक तालिम, स्थानीय स्रोत सम्बन्धि तालिम, व्यवसाय संचालन गर्न चाहिने पूँजी-ऋण तथा औजार र मसिनेरी उपलब्ध गराउन सहयोग गर्नुको साटो अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ । युवाप्रतिको सरकारहरुको उदासीनताले पनि धेरै युवाहरु पलायन भएका छन् ।

युवाहरुको पलायनले हाम्रो नेपाली समाज कतै सामाजिक बिघटनतर्फ गैरहेको त छैन ? भन्ने प्रश्न उठेको छ । हाम्रा गाउँहरु रितिदै गएका छन् । पुस्तौपुस्तादेखि चलिआएका रिति, संस्कृति लोप हुँदै गएका छन् । मानिसहरु खेति किसानी छोडी शहरहरुमा पलायन भएका छन् ।

केहि दिन अगाडी आएको एक रिपोर्टअनुसार हाम्रो देशमा १० लाख हेक्टर खेतियोग्य जमिन बाँझो भएको छ । हामीले खानेदेखि लगाउनेसम्म सबै आयात गर्नुपरेको छ । हाम्रो देशलाई रेमिटान्सले धानिरहेको छ र दिन प्रति दिन महंगी बढिरहेको छ ।

युवा पलायनले गर्दा अब आउने धेरै बालबालिकाहरु अभिभावकविहिन हुर्किने छन् । यसले बालबालिकाहरुको मानसिक विकासमा ठूलो नकारात्मक असर पर्नेछ । बालबालिकाको भौतिक इच्छा त पूरा होलान तर मानसिक विकासको लागि अभिभावकको भूमिका पूरा हुदैन ।

युवा पलायनले हाम्रो समाजमा विकृति पनि बढेको छ । यसको एउटा उदाहरण बढ्दो सम्बन्धबिच्छेद हो । यस्तै विविध करणले गर्दा समाजहरु बिघटनतर्फ जाने खतरा बढेको छ ।

युवा पलायनले धेरै समस्याहरु ल्याएपनि यसलाई नियन्त्रण गर्नका लागि सरकारदेखि निजी क्षेत्रले ठूलो भूमिका खेल्नुपर्ने हुन्छ । ‘यूवा अघि सर्छ बल्ल देश अघि बढ्छ’ भन्ने नारा केन्द्र तथा स्थानीय सरकारहरुको नीति तथा कानुनहरुमा झल्किने गरी बनाउनुपर्छ ।

सरकार तथा निजी क्षेत्रले यूवाहरुलाई कृषि, स्वास्थ्य, शिक्षामा समान अवसर सिर्जना गर्नुपर्छ । सहुलियत ऋण, औजार तथा मसिनेरीमा अनुदान, तालिम केन्द्रहरुको व्यवस्था जस्ता पुर्वाधार विकासमा ठूलो बजेट छुट्याउनुपर्छ ।

युवाहरुलाई पेशा सम्बन्धी काउन्सिलिङ, विभिन्न ज्ञान केन्द्रहरुको सुविधा, अनुसन्धान केन्द्रहरु उपलब्ध गराउन सके धेरै हदसम्म पलायन रोकन सकिन्छ । स्थानीयस्तरमै रोजगारी सृजना गर्नसके देशको मुहार फेरिन समय लाग्दैन ।

लेखकः निशेष श्रेष्ठ, युवा व्यवसायी

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.