गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरसफाइ
चितवन- लामो समयदेखि अलपत्र बनि काँसघारीमा परिणत भएको चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सरसफाइ सुरु गरिएको छ । भरतपुर महानगरपालिकाले सरसफाइ अभियान सुरु गरेको हो ।
चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको जग्गामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला लामो समयदेखि अलपत्र हुँदा काँसघारीले भरिएको थियो । रु तीन अर्ब लागत अनुमान गरी जनस्तरबाट सहयोग उठाएर निर्माण गर्ने गरी धुर्मुस सुन्तली फाउण्डेशनले विसं २०७५ मा क्रिकेट रङ्गशाला निर्माणको थालनी गरेको थियो ।
रु ५० करोडभन्दा बढी रकम खर्च भइसकेको, रु १८ करोड ऋण रहेको र थप सहयोग जुट्न नसकेको भन्दै धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिकालाई रङ्गशालाको जिम्मेवारी सुम्पेर विसं २०७८ पुसमा कामबाट हात झिकेको थियो । त्यस यता रङ्गशाला निर्माणको काम अघि बढ्न सकेको छैन । सम्झौताभन्दा बाहिर गएर ऋण तिर्नुपर्ने देखाएपछि महानगरलाई काम अघि बढाउन कठिन भएको थियो ।
बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले सहकार्य गरी रङ्गशाला बनाउने निर्णय गरेका छन् । यससँगै नेपाल सरकारले उक्त रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर अघि बढाउने निर्णय गरेको छ । सरकारका तीन वटै निकायले रङ्गशाला निर्माणमा चासो देखाएपछि अलपत्र परेको रङ्गशालामा सरसफाइ अभियान सुरु गरिएको हो ।
सरसफाइमा स्थानीय, विद्यार्थी, सामाजिक अभियानकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीलगायतको उपस्थिति रहेको थियो । सरसफाइ अभियानमा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले रङ्गशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेकाले अब रङ्गशाला बन्नेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो ।
उहाँले राष्ट्रिय गौरवमा परेपछि अब बजेट अभाव नहुने र रङ्गशाला निर्माणलाई तीव्रता दिन महानगरपालिकाले आफ्नोतर्फबाट सम्पूर्ण शक्ति लगाउने बताउनुभयो ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सरकारले राष्ट्रिय गौरवमा राखेपछि अब हामी स्थानीय सरकार र स्थानीयले पनि यसलाई आफ्नो सम्झेर सहयोग गर्नुपर्ने बताउनुभयो । रङ्गशाला निर्माणमा जोडिनु भएका बागमती प्रदेश सभाका पूर्व प्रदेशसभा सदस्य विजय सुवेदीले रङ्गशाला निर्माण सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले निर्माण सँगसँगै सञ्चालनमा ल्याउने गरी काम गरिनुपर्ने बताउनुभयो । उहाँले निर्माण पनि भइरहने विभिन्न खेलकुद प्रतियोगिता पनि गरिरहने गरी काम अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्