महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्दछः राष्ट्रपति

काठमाडौं- आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछूत, घरेलु महिला हिंसाजस्ता कुप्रथाका कारण अझैपनि केही महिला दिदीबहिनी विविध किसिमका हिंसा, विभेद र अपमानका पीडा खप्न बाध्य भएका उल्लेख गर्नुभएको छ ।

महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानका सन्दर्भमा आज जारी गर्नुभएको सन्देशमा उहाँले समाजमा विद्यमान विकृति र विसङ्गतिका विरुद्ध परिवार, समुदाय र राष्ट्रियस्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले नेपाली दिदी बहिनीले भोग्नु परिरहेका विभिन्न प्रकारका समस्याबाट मुक्तिका साथै सुख, शान्ति र समृद्धिको कामना गर्दै नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सङ्कल्प गरेको भए तापनि विभेद र अपमानका पीडा खप्न बाध्य भएको उल्लेख गर्नुभएको हो ।

महिलाविरुद्ध हुने हिंसा अन्त्यको लागि क्रियाशील सरकारी निकाय, सामाजिक सङ्घ–संस्था, नागरिक समाज तथा महिला अधिकारकर्मीका साथै विभिन्न सञ्चार माध्यमलाई यस दिवसले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिनुभएको छ ।

यस अभियानलाई नेपालमा पनि “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गरिँदैछ ।

महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यको लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्दछ । त्यस्तै, महिला हिंसा घटाउन उपचारात्मक सेवाका साथै वा प्रवद्र्धनात्मक उपाय र प्रतिबन्धात्मक उपायको पनि अनुसरण गर्नु त्यति नै आवश्यक रहेको छ ।

“महिलालाई आर्थिक रूपले आत्मनिर्भर र महिला तथा पुरुषबीचको असमान शक्ति संरचनाको अन्त्य नगरेसम्म महिला विरुद्धको हिंसा कम गर्न कठिन हुने हुनाले हाम्रो संविधानको मर्म र भावनाअनुसार महिलालाई आर्थिक रुपले आत्मनिर्भर बनाउने तथा असमान शक्ति संरचना परिवर्तन गर्नेतर्फ हामी सबैलाई आजको दिनले प्रेरित गरोस् भन्ने कामना पनि गर्न चाहन्छु” सन्देशमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.