लोकतन्त्र र गणतन्त्र चिट्ठामा पारेर ल्याएको व्यवस्था होइन:ओली

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध अहिले विभिन्नखाले षडयन्त्र सुरु भएकाले सचेत रहन नेपाली जनतालाई आग्रह गर्नुभएको छ ।
नेपाल संवत् ११४४ को अवसरमा एमाले काठमाडौँ महानगर कमिटीद्वारा आयोजित शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले नेपाललाई अस्थिर बनाएर फाइदा लिन खोज्ने तत्त्वहरूले पुनः नेपालमा षडयन्त्र सुरु गरेको बताउनु भएको हो ।
”अस्थिरता चाहने तत्तहरुले जाती, धर्म र पहिचानको नाममा अराजकता मच्चाउने प्रयास गरिरहेका छन्, त्यसलाई परास्त गर्न सबै नेपाली एक ठाउँमा उभिनुपर्छ । मुलुकको लोकतन्त्र र गणतन्त्र नेपाली जनताको खुन पसिना बगेर आएको व्यवस्था हो, यसलाई समस्यामा पार्न खोज्ने तत्त्वलाई जुनसुकै अवस्थामा परास्त गर्नेछौँ,” अध्यक्ष ओलीले भन्नु भयो।
ओलीले देशको लोकतन्त्र र गणतन्त्र चिट्ठामा पारेर आएको व्यवस्था नभएको उल्लेख गर्नुहुँदै मुलुकमा सरकार कमजोर हुँदा अनेकखाले शक्तिहरू सलबलाउन थालेको धारणा राख्नुभयो ।
अध्यक्ष ओलीले काठमाडौँ सहर र नेपाल ज्ञान, ध्यान तथा योगको उदगम थलो भएको चर्चा गर्दै नेपालको संस्कृति बचाउन सकेमात्र यहाँको पहिचान कायम हुने चर्चा गर्नुभयो । यहाँको संस्कार, संस्कृति विश्वमै उदाहरणीय भएकाले संरक्षणमा सबै लाग्नुपर्न अध्यक्ष ओलीको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्