जुवाको खालबाट च्याँखे थाप्ने राजाबादीको सपना पुरा हुँदैनः नेका महामन्त्री थापा

गुल्मी- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व राजा ज्ञानेन्द्र शाह र उहाँका समर्थकलाई जुवाको खालबाट च्याँखे नथाप्न चेतावनी दिनुभएको छ ।
शनिबार नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले राजा आउने भए जुवाको खालबाट नभएर सिधैं आउन आग्रह गर्नुभयो ।
‘राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने कांग्रेसले प्रस्ट भन्ने हो, राजाले पनि जुवाको खालमा गएर च्याँखे दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए खालमा आउनुस् । कांग्रेस भिड्न तयार छ । पार्टी खोल्ने, चुनाव लड्ने संविधानले दिन्छ । बहुमत ल्याउने संविधान फेर्ने, बदल्ने, फर्काउने । नेपाली कांग्रेस यो कुराको लागि तयार छ,’ महामन्त्री थापाले भन्नुभयो ।
उहाँले राजा आउने भए पार्टी खोलेर चुनाव जितेर सिधा बाटोबाट आउन आग्रह गर्नुभयो । राजसंस्था आफ्नै बदनामिका कारण पतन हुनुपर्ने अवस्थामा पुगेको उहाँको भनाइ छ ।
वर्तमान व्यवस्था उल्ट्याउने सम्भावना नरहेको थापाले बताउनुभयो । उहाँले गाउँमा कसैले भ्रम छर्दै आउँछ भने त्यसको जवाफ नेपाली कांग्रेसले दिने बताउनुभयो ।
नेपाली कांग्रेसले शान्ति र संबिधानको अगुवाइ गरेको थापाको भनाइ छ । नेपाली कांग्रेसले सबैले पढ्न पाउनुपर्छ, सबैले निःशुल्क उपचार गर्न पाउनुपर्छ भन्ने मान्यता बोकेर अगाडी बढिरहेको महामन्त्री थापाले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्