आगामी बैशाखमा तेस्रो लगानी सम्मेलन आयोजना गर्ने सरकारको तयारी

अर्थमन्त्री डाक्टर महतको संयोजकत्वमा निर्देशक समिति गठन

काठमाडौं –सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्नका लागि तयारी अघि बढाएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति रहेको छ । निर्देशक समितिको हिजो बसेको पहिलो बैठकपछि अर्थमन्त्री डा महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिनुभएको हो । लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति रहेका छन् ।

लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने छ । लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’मा लैजाने भन्नेबारे तयारी गर्न अर्थमन्त्री डा महतले निर्देशन दिनुभएको छ ।

यसपटक सम्मेलन आयोजना हुनुअघि सम्भावित लगानीकर्तासँग दुईपक्षीय बैठक गर्ने योजना सरकारले बनाएको छ । सरकारले स्वदेशी लगानीमा बन्न नसक्ने ठुला आयोजना विदेशी लगानीकर्ता सामु राखेर लगानी भित्र्याउने लक्ष्यसहित सम्मेलन गर्दै आइरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.