‘लागुऔषध नियन्त्रणका लागि टीकापुर नगरपालिका एकद्वार प्रणालीबाट अघि बढ्ने

कैलाली- लागुऔषध प्रयोग नियन्त्रण गर्न टीकापुर नगरपालिका एकद्वार प्रणालीबाट अघि बढ्ने भएको छ । टीकापुरस्थित संवाद समूहले आयोजना गरेको प्रहरी, सुधार गृह सञ्चालक, उपप्रमुख र वडाध्यक्षबीच छलफल कार्यक्रममा एकद्वार प्रणालीमार्फत लागुऔषध नियन्त्रण गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको केन्द्र र वडाले लागुऔषध नियन्त्रणमा एकद्वार प्रणालीबाट खर्च गर्दा समस्या नहुने उपप्रमुख खडकबहादुर शाहले बताउनुभयो । “लागुऔषधको जोखिम हामीमा छ, खुला सिमाना छ, सबै लाग्ने हो भने नियन्त्रण गर्न सकिन्छ”, उपप्रमुख शाहले भन्नुभयो, “लागुऔषधमा लाग्नै नदिन तीनै तहका सरकार आपसी समन्वय गरेर बलियो संयन्त्र बनाएर काम गरे सफल हुन्छ ।”

उहाँले लागुऔषध प्रयोगकर्ताको सङ्ख्या घट्नुको साटो बढ्दो क्रममा रहेको बताउनुभयो । “लागुऔषध प्रयोगकर्ताको सङ्ख्या घट्नुको साटो बढ्दो छ, सुधारगृह बढ्नुको अर्थ त्यही बुझिन्छ”, शाहले भन्नुभयो, “सुधारगृहले पनि मापदण्ड पूरा गरेको देखिँदैन, सुधारगृह व्यापार हो कि सेवा हो प्रष्ट हुनुप¥यो ।” वडा र पालिकाले छुट्टाछुट्टै कार्यक्रम गर्दा प्रभावकारी नभएको वडाध्यक्षको भनाइ थियो ।

“एकद्वार प्रणालीबाट बजेट विनियोजन भएपछि लागुऔषध नियन्त्रणमा काम गर्न सजिलो हुन्छ”, वडा नं २ का वडाध्यक्ष दीपक चौधरीले भन्नुभयो, “सामाजिक विकासअन्तर्गत वडामा बजेट कम हुन्छ, त्यो भन्दा केन्द्रबाट एकमुष्ट कार्यक्रम गर्ने हो भने सजिलो हुन्छ ।” उहाँले प्रहरीको संयोजकत्वमा बनेको समितिलाई प्रभावकारी ढङ्गबाट परिचालन गर्न जरुरी रहेको धारणा राख्नुभयो । वडा नं ४ का वडाध्यक्ष लालवीर चौधरीले सुधारगृहसँग समन्वय नगर्दा समस्या समाधानमा चुकेको बताउनुभयो । “एकीकृत भएर कार्यक्रम गर्नुपर्छ । विगतमा धेरै कार्यक्रम ग¥यौँ तर प्रतिफल आएन”, उहाँले भन्नुभयो ।

सुधारगृह सञ्चालक हेमन्त साहुले समाज सुधारगृहप्रति सकारात्मक नभएको बताउनुभयो । “कुलतमा फसेका व्यक्तिको उपचार सुधारगृहमा राखेर गर्ने हो”, साहुले भन्नुभयो, “सरकारले गर्न नसकेकाले हामीजस्ता व्यक्तिले सुधारगृह चलाउनु परेको हो ।” कार्यक्रममा सात वडाका वडाध्यक्षको उपस्थिति थियो । सबैले एकद्वार प्रणालीबाट लागुऔषधका बारेमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

टीकापुरमा लागुऔषधसम्बन्धी घट्ना बढ्न थालेपछि संवाद समूहले प्रहरी, सुधारगृह र जनप्रतिनीधिसँग छलफल गर्दै आएको छ । विभिन्न चरणको छलफलपछि इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीको संयोजकत्वमा पालिकास्तरीय लागुऔषध दुव्र्यसनी नियन्त्रण समिति गठन भएको छ । समितिमा स्थानीय समाजसेवी, सुधारगृहका सञ्चालक, जनप्रतिनीधि, सामुदायिक प्रहरीका प्रतिनीधि सदस्य छन् । त्यसैगरी वडामा प्रहरी निरीक्षकको संयोजकत्वमा समिति गठन भएको छ ।

समितिले योजना बनाएर जनचेतना फैलाउने काम र अन्य नियन्त्रणका उपायमा काम गर्नेछ । टीकापुरस्थित प्रहरीले समय समयमा विद्यालयमा गएर दुव्र्यसनी र ट्राफिक नियमबारे जनचेतनाको अभियान चलाउँदै आएको इलाका प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।

टीकापुरमा हाल पाँच वटा सुधारगृह सञ्चालनमा छन् । प्रहरीले दसैँ र तिहारमा कडा निगरानी गरेपछि अपराधका घटना अति न्यून भएको स्थानीयको भनाइ छ । इलाका प्रहरी कार्यालय टीकापुरले आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध दुव्र्यसनीसम्बन्धी १९ वटा मुद्दा चलाएको छ । त्यसैगरी २०७८/७९ मा ४० वटा, २०७९/८० मा ५१ मुद्दा र चालु आर्थिक वर्षको चार महिनामा २१ वटा मुद्दा दर्ता गरेको जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.