एचआइभी सङ्क्रमितको शल्यक्रियामार्फत शिशु

बागलुङ- धौलागिरि अस्पतालमा पहिलो पटक एचआइभी सङ्क्रमितले शल्यक्रियामार्फत शिशुलाई जन्मदिनुभएको छ । २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई आइतबार जन्म दिनुभएको धौलागिरि अस्पतालले जनाएको छ । शिशुको तौल तीन हजार पाँच सय २५ ग्राम रहेको छ ।
शिशुका आमा बुबा दुबै एचआइभी सङ्क्रमित भइ एआरटी औषधि सेवन गरिरहनुभएको छ । यसअघि बागलुङका एचआइभी सङ्क्रमित गर्भवतीलाई पोखराको गण्डकी अस्पताल अथवा टेकु अस्पताल पठाउने गरिएको थियो । एआरटी सेन्टरका प्रमुख प्रदीप आचार्यले अस्पतालमा एचआइभी सङ्क्रमितको उपचार र परामर्श दिँदै आइएको बताउनुभयो ।
स्वास्थ्य परीक्षणका क्रममा गर्भमा रहेको शिशुको धड्कन बढी भएपछि शल्यक्रिया गरिएको धौलागिरि अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा विजय ओझाले जानकारी दिनुभयो । शल्यक्रियामार्फत जन्मिएको शिशुको स्वास्थ्य सामान्य रहेको र एचआइभी सङ्क्रमण नहोस् भनेर तुरुन्तै औषधि समेत चलाउन थालिएको ओझाको भनाइ छ ।

“सङ्क्रमित महिलाले नियमित एचआइभी सङ्क्रमितको औषधि खाँदै आउनुभएको थियो, औषधि सेवनले सङ्क्रमितको ‘भाइरल लोड’ कम हुन्छ”, ओझाले भन्नुभयो “सङ्क्रमित महिलाले बच्चा जन्माउने प्रक्रिया त फरक भएन, तर चिकित्सक तथा स्वास्थ्यकर्मी केही सजग रहनुपर्ने हुन्छ ।” सङ्क्रमित आमाबाटसमेत स्वस्थ बच्चा जन्मिने भएकाले एचआइभी सर्ने सम्भावना अत्यन्तै न्यून रहेपनि उपचार र हेरचाह भने गर्न आवश्यक हुन्छ ।

जिल्लामा अझै दुई जना एचआइभी सङ्क्रमित गर्भवती रहेको एआरटी सेन्टरका प्रमुख आचार्यले बताउनुभयो । विशेषज्ञ सेवाबाट विशिष्टिकृत सेवा प्रदान गर्न थालेको धौलागिरि अस्पतालमा पछिल्लो समय ठूला उपकरण र प्रविधिसमेत भित्राइँदै आएको छ । धौलागिरि अस्पतालमा हालै मात्र रु १० करोडको सिटिस्क्यान उपकरण भित्र्याएर सेवा दिन थालिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.