स्वास्थ्य बीमासम्बन्धी कानुन संशोधन आवश्यक छ:गगन थापा

काठमाडौँ – सांसद गगन थापाले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यकता रहेको बताउनुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र’ विषयक अन्तरक्रियामा पूर्व स्वास्थ्यमन्त्री थापाले स्वास्थ्य बीमा असफल हुन लागेकामा चिन्ता व्यक्त गर्दै प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यक रहेको बताउनुभयो ।

उहाँले संविधानमा लेखेअनुसारको स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गराउनका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याइए पनि सफल हुन नसकेको बताउनुभयो । प्रधानमन्त्री तथा उच्च तहमा स्वास्थ्य बीमाबारे छलफल नहुँदा अलपत्र परेको उहाँको भनाइ छ ।

हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रम सरकारले ल्याएको थियो । “स्वास्थ्य बीमा राजनीतिक कुरा हो । राजनीतिक दलको नेताले मेरो नागरिकलाई संविधानमा लेखेअनुसार स्वास्थ्य सेवा पुर्‍याउँछु भन्नुपर्दछ”, उहाँले भन्नुभयो, “तर प्रधानमन्त्री तथा हाम्रा राजनीतिक दलका नेताबीच स्वास्थ्य बीमाका बारेमा छलफल भएको मलाई थाहा छैन । त्यसैले स्वास्थ्य बीमा अलपत्र परेको छ ।” स्वास्थ्य बीमासम्बन्धी कानुनलाई आवश्यक संशोधन गर्दै लगेर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

सांसद प्रकाश पन्थले स्वास्थ्य बीमा कार्यान्वयन गर्नसके संविधानअनुसार नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने धारणा राख्नुभयो । उहाँले स्वास्थ्य सेवा र प्रणालीमा सुधारको खाँचो रहेको उल्लेख गर्दै सामाजिक सुरक्षाका नाममा पैसा गइरहेकाले एकद्वारमार्फत स्वास्थ्यमा खर्च गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले स्वास्थ्य मन्त्रालयलाई प्राथमिकतामा राखेर नै बजेट बनाएको बताउनुभयो । उहाँले आधारभूत स्वास्थ्य सेवा निःशुल्क र बीमालाई व्यवस्थित गर्ने कुरामा गृहकार्य भइरहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले संविधानले सुनिश्चित गरेअनुसार आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपचार गराउन नसकेको बताउनुभयो । उहाँले जनशक्ति अभावले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नसकेको बताउनुभयो ।

“नागरिकलाई आधारभूत स्वास्थ्य सेवा व्यवस्थित गर्न उपलब्ध गराउन नसकेका कारणले र गुणस्तरीय स्वास्थ्य सेवा दिन सकेनौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रम सफल हुन सकेन ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.