३४ वर्षदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व माग

मकवानपुर- मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर–३ घट्टेखोलाका चेपाङहरुले भोगचलन गर्दै जग्गाको स्वामित्व हस्तान्तरण गरिदिन बागमती प्रदेश सरकार समक्ष आग्रह गरेका छन् ।

सरकारी जग्गामा सरकारले स्थानान्तरण गरी राखेको तर, भू–स्वामित्व नपाएका घट्टेखोला खाद्य अधिकार प्रभावित समूहका टोलीले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई भेटेर जग्गाको स्वामित्व हस्तान्तरण गरिदिन माग गरेका हुन् ।

२५ वर्षपछि हस्तान्तराण गर्ने गरी तत्कालिन जिल्ला विकास समिति मकवानपुर र प्रजा विकास कार्यक्रमको पहलमा पहिरोले विस्थापित भएका नौ घरधुरीलाई २०४७ सालमा प्रति परिवार ६ कठ्ठाका दरले जग्गा उपलब्ध गराइएको थियो ।

विगत ३४ वर्षदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व हस्तान्तरण गरिदिन उनीहरुले मुख्यमन्त्री समक्ष माग गरेका छन् । यस विषयमा मानव अधिकार आयोग, सुकुम्बासी आयोग, जिल्ला समन्वय समिति समक्ष पटक पटक कुरा राख्दा समेत सुनुवाइ नभएको घट्टेखोला खाद्य अधिकार प्रभावित समूह संयोजक रामचन्द्र प्रजाले गुनासो गर्नुभयो ।

“हामि आफूखुशी जंगल फडानी गरी बसेका होइनौ,पटक पटक भूमि आयोग बन्यो, हामिलाई जग्गाको स्वामित्व दिइएन, संयोजक प्रजाले भन्नुभयो,“बरु ऐलानीमा बसेको भए यतिबेला सम्म नम्बरी बनाउन सकिन्थ्यो होला ।”

प्रभावित समूहको मागको विषयमा मुख्यमन्त्री जम्कट्टेलले जिल्ला समन्वय समितिका प्रमुख ललित घलानलाई फोन मार्फत् कुराकानी गरी यस विषयमा प्राथमिकताका साथ गम्भिर भएर लाग्न आग्रह गर्नुभयो ।

चेपाङहरुलाई उपलब्ध गराइएको उक्त जग्गा तत्कालिन जिल्ला विकास समिति मकवानपुरको नाममा रहेको छ । फियान नेपाल बागमती प्रदेश संयोजक राजेन्द्र पोखरेलको सहजीकरणमा प्रभावित समूह र मुख्यमन्त्रीबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.