विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
काठमाडौं- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकासका लागि तीन तहका सरकार एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
सुर्खेतको चिंगाड महोत्सव तथा खेलकुद कार्यक्रमको उद्घाटनका अवसरमा उपप्रधानमन्त्री खड्काले तीनवटै तहका सरकार मिलेर काम गर्नसके जनताले चाहेअनुसारको विकास सम्भव हुने धारणा राख्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
“विकास निर्माणका कुन काम कुन तहको सरकारले गर्ने भन्ने तय भएमा सोहीअनुसार काम गर्न सहज हुन्छ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “यसतर्फ बेलैमा सोच्ने र सोहीअनुरुप नीति तय गरेर काम गर्नु जरूरी छ ।” उपप्रधानमन्त्री खड्काले सङ्घीयताको पूर्ण कार्यान्वयन र संविधानप्रदत्त अधिकार स्थापित गर्नका लागि सङ्घीय कानुन कार्यान्वयन अन्तिम चरणमा पुगेको जानकारी पनि दिनुभयो ।
उहाँले संसद्को आउँदो हिउँदे अधिवेशनबाट स¬ङ्घीय प्रहरी ऐन, शिक्षा ऐनलगायतका आवश्यक कानुन पारित गर्ने सरकारको तयारी रहेको उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री खड्काले सरकार जनताको सुख दुःखको साथी भएको बताउँदै जनताको उन्नति र समृद्धिका लागि वर्तमान सरकार लागिरहेको बताउनुभयो । वर्तमान गठबन्धन सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गरी जनतालाई थप अधिकार सम्पन्न र बलियो बनाउने गरी काम गरिरहेको उहाँको भनाइ थियो । उहाँले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्न आग्रह गर्दै खेल आयोजनाले कर्णालीमा खेलकुद पूर्वाधार निर्माणले गति पाउने र खेलाडीलाई पनि थप सहज हुने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्