लुम्बिनी प्रदेशमा दोस्रो आवधिक योजनाको तयारी
दाङ– लुम्बिनी प्रदेश सरकारले दोस्रो आवधिक योजना बनाउन थालेको छ । प्रदेश योजना आयोग मार्फत आवधिक योजना निर्माणको गृहकार्य भइरहेको हो । समृद्ध लुम्बिनीः आर्थिक विकास, शुसासन, समता र समुन्नतीलाई प्रमुख सोंचको रुपमा दोस्रो आवधिक योजनामा अघि सारिएको छ । दोस्रो आवधिक योजनाको अवधारणापत्र समेत तयार पारिएको छ ।
लुम्बिनी प्रदेशमा पहिलो आवधिक योजनाको कार्यान्वयन भएपनि योजना छनौंट, कार्यान्वयन र अनुगमन पक्षलाई प्रभावकारी बनउन नसक्दा अहिले पनि योजना छनौंट पहुँचको आधारमा हुदै आएका गुनासाहरु सार्वजनिक हुने गरेका छन् ।
पहिलो आवधिक योजना अनुसार काम गर्दा लुम्बिनी प्रदेशमा गरिबी ११.७ प्रतिशतले घटेको देखिएको छ भने सडक पूर्वाधार तर्फ तीन हजार ८ सय ३३ किलोमिटर सडक निर्माण गरेको छ । खानेपानीको सुविधा पुगेको जनसंख्या ९२.२ प्रतिशत छ । विद्युत सेवाको पहुँचमा थप १४ प्रतिशत विस्तारभई करिब ९४ प्रतिशत जनसख्या लाभान्वित भएको देखिएको छ ।
तर, प्रदेशमा मातृ मृत्युदर र सिघ्र कुपोषणको अवस्था जटिल देखिएको छ । अव प्रदेशमा देखिएका समस्याहरुलाई समाधान गर्नेगरी आवधिक योजनाले सम्वोधन गर्ने योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले जानकारी दिनुभयो । आवधिक योजनाले प्राथमिकता राखेका बिषय भन्दा बाहिरबाट योजनाहरु छानिने गरेकाले समस्या रहेको भनाई स्थानीय सरकारको छ ।
नगरपालिका संघ लुम्बिनी प्रदेशका अध्यक्ष खिलध्वज पन्थिले लुम्बिनी प्रदेशको समृद्धि जरुक्क उठ्ने गरी योजना निर्माण गरिनुपर्ने बताउनु भयो ।
गाउँपालिका महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बिष्णु गिरीले योजना छनौंट, कार्यान्वयन र अनुगमनमा स्थानीय र प्रदेश सरकार विचमा समन्वय नभएको बताउनु भयो । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष बालकृष्ण सुवेदीले उत्पादन बढाउनेगरी योजना बन्नुपर्ने धारणा राख्नु भयो ।
चेम्बर अफ कमर्स राप्तीका अध्यक्ष नेमलाल बेल्वासेले औद्योग तथा व्यापार क्षेत्र ठप्प हुन थालेकाले समस्याहरु बढ्दै गएको, ति समस्या समाधान गर्न आवधिक योजनाले समेट आग्रह गर्नु भयो । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले योजना छनौंटलाई व्यस्थीत गर्न योजना बैंक निर्माण गरेर त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।
यस्ता छन् दोस्रो आवधिक योजनाका प्राथमिकता
आवधिक योजना तर्जुमाको लागि संस्थागत व्यवस्था सम्बन्धि कार्यविधि २०८० बमोजिम गठित निर्देशक समिति बैठक बसेको छ । योजना आयोगका उपाध्यक्ष तथा निर्देशक समितिका संयोजक डा.नहकुल केसीको अध्यक्षतामा बसेको बैठकमा दोस्रो आवधिक योजनाको मस्यौदामाथी छलफल गरिएको थियो ।
बैठकले आवधिक योजनाको अवधारणा पत्र परिमार्जन सहित पारित गरेर पूर्ण बैठकमा पेश गर्ने निर्णय गरेको छ । कृषि, उद्योग, पर्यटन क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि लक्षित बृहत्तर रोजगारी र उद्यमशीलताको विकास गर्ने, सघन अन्तर आवद्धता र गुणस्तरीय पूर्वाधार निर्देशित उच्च तथा तीवै आर्थिक बृद्धि हाँसील गर्ने उदेश्य निर्धारण गरिएको छ ।
यस्तै गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सर्वसुलभ पहुँचलाई सुनिश्चितगरी सभ्य र दक्ष मानव पुँजीको निर्माण गर्ने, सबै क्षेत्रमा रहेका विभेद र असन्तुलनलाई हटाई सामाजिक न्यायमा आधारित समतामूलक समाजको निर्माण गर्ने, सेवा प्रवाह र विकासका आयाममा नवीनतम तथा परिस्कृत प्रविधिको प्रयोग मार्फत सुशासन र जवाफदेहिताको प्रत्याभूति गर्ने बिषय उद्देश्यको रुपमा समेटिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्