कोप २८ : नेपालले वातावरण र मानवतामाथि परेको प्रभावलाई प्राथमिकतासाथ उठाउने

प्रधानमन्त्री प्रचण्ड भेटघाटमा व्यस्त

युएई- विश्व यतिबेला जलवायु परिवर्तनबट प्राणी जगतमा परिरहेको र पर्ने नकारात्मक विषयमा निकै चिन्तामा छ ।

संयुक्त अरब इमिरेट्सको दुबईमा भैरहेको कोप २८ को सम्मेलनमा विश्वका नेताहरु कार्वन उत्सर्जन कम गर्न सकिने उपायका बारेमा मात्रै चिन्तन गरिरहेका छैनन, कार्बन उत्सर्जनबाट पर्ने नकारात्मक प्रभावलाई न्यूनिकरण गर्ने उपायका बारेमा सैद्धान्तिक छलफल पनि गरिरहेका छन ।

खासगरी औद्योगिक राष्ट्रहरुले कार्बन उत्सर्जन कम गर्ने विषयमा आफ्नो धारणा राखिरहेका छन भने औद्योगिक राष्ट्रहरुको अत्यधिक कार्बन उत्सर्जनबाट मार खेपिरहेका राष्ट्रहरुले भने क्षतिपूर्तिलाई आफ्नो मुख्य एजेण्डाको रुपमा राखिरहेका छन ।

नेपालले यतिबेला जलवायु परिवर्तनमा विश्व समुदायको चुनौतिपूर्ण समस्याका रुपमा रहेको कुरा प्रष्टसँग राख्दैछ । यही कुरा नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा प्रधानमन्त्रीले राख्नुभएको छ ।

त्यसबखत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई नेपालले अवसरको रुपमा प्रयोग गर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर २ तारिक अर्थात भोलि सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसबखत प्रधानमन्त्री प्रचण्डले देशको पहिचान, स्वाभिमान, वातावरणीय अवस्था र मानवताको विषयलाई बलियो रुपमा उठाउँदै हुनुहुन्छ ।

जलवायु परिवर्तनको विषयलाई आफ्नो नेतृत्वको सरकारले निकै महत्व दिएको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले वर्तमान युवा पुस्ता र भावी सन्ततिको जीवनका लागि आफू गम्भीर बनेको बताउनुभयो ।

सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले सैद्धान्तिक कुराहरु जोडदार रुपमा उठाउनुहुने छ । तर त्यसको कार्यान्वयनका लागि नेपाली प्रतिनिधिहरुले विभिन्न छुट्टा छुट्टै द्विपक्षीय र बहुपक्षीय बैठकहरुमा कुरा गर्ने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघीय महासचिवबीच भेट

कोप २८ सम्मेलनको उद्घाटन सत्र आज सम्पन्न भएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमै जलवायु परिवर्तनको सबैभन्दा ठूलो प्रभाव नेपाल र अन्टार्कटिकामा परेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

यसैबीच दुबईमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

 

भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कार्त्तिक १७ गते जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

त्यसबखत दुई पक्षीय हितका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपति म्यारियोबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र  क्युबाका राष्ट्रपति मिगुइल म्यारियो डायज क्यानेली बीच पनि आजै भेटवार्ता भएको छ ।

भेटवार्तामा दुइपक्षीय हितका बारेमा कुराकानी भएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल मंसिर १३ गते दुबइ प्रस्थान गरेको हो । प्रधानमन्त्री १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.