कार्यालय प्रमुख नहुँदा सेवा प्रभावित, एक घण्टामै हुने काम तीन दिन कुर्नुपर्ने बाध्यता

रौतहट- गृह मन्त्रालयले कार्यालय प्रमुखको व्यवस्था नगर्दा इलाका प्रशासन कार्यालय, रौतहटको सेवा प्रभावित भएको छ । कार्यालय प्रमुख नहुँदा एक घण्टामै हुने कामका लागि सेवाग्राहीले तीन दिनसम्म कुर्नु पर्ने बाध्यता छ ।
इलाका प्रशासनको कामकाजका लागि मन्त्रालयले नायब सुब्बा राम स्वार्थ यादवलाई अधिकृतको जिम्मेवारी दिएको समयावधी सकिएपछि नयाँ व्यवस्था नहुँदा कार्यालय प्रमुखविहीन बनेको हो ।
मन्त्रालयले यादवलाई दिएको जिम्मेवारी गत कार्तिक १५ मा सकिएको हो । विगत चार वर्षदेखि कार्यरत यादवालाई यसअघि चार पटकसम्म कामको जिम्मेवारी दिइएको थियो ।
एक महिनासम्म मन्त्रालयले कार्यालय प्रमुखको व्यवस्था नगर्दा नागरिकता वितरण, मधेसी, दलित, जनजाति प्रमाणीकरण तथा सिफारिस गर्ने लगायतका सेवा प्रभावित छन् ।
इलाका प्रशासनबाट दिने सेवा रोकिएपछि जिल्लाका गरूडा नगरपालिका, लगाएतका सेवाग्राही मर्कामा परेका छन् । सेवाग्राहीले रौतहटमा रहेको जिल्ला प्रशासन कार्यालय जानुपर्ने बाध्यता छ ।
योसँगै इलाका प्रशासन कार्यालयका कर्मचारीको दुई महिनाको तलबसमेत रोकिएको छ । रौतहट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्राले इलाका प्रशासन कार्यालयको कायममुकायम अधिकृतको जिम्मेवारीको म्याद सकिएको विषयमा गृह मन्त्रालयलाई जानकारी गराएको बताउनुभयो ।
‘हामीले जानकारी गराइ सकेका छौं,’ उहाँले भन्नुभयो, ‘तलब खुवाउने अधिकार दिनका लागि पनि पत्राचार भएको छ । तर, आदेश आएको छैन ।’ उहाँको भनाइ छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नियमित व्यक्तिलाई वा फरक-फरक व्यक्तिलाई लगातार कायममुकायम दिन नमिल्ने व्यवस्था भएकाले अर्को व्यक्तिलाई निरन्तरता दिन कानुनी अड्चन देखिएको हो । उहाँले भन्नुभयो, ‘नयाँ कर्मचारी खटाउने तयारी भइरहेको छ ।’
२०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय स्थापनाकालदेखि नै निमित्तको भरमा चल्दै आएको छ । अधिकृतस्तरको दरबन्दी भएपनि मन्त्रालयले हालसम्म अधिकृत पठाउन सकेको छैन ।
त्यसो त जिल्ला प्रशासन कार्यालय रौतहटमा पनि कर्मचारीको अभाव छ । सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा सेवा प्रवाहमा समस्या भएको हो । दरबन्दीको कर्मचारी नखटाउँदा र भएको कर्मचारी पनि काजमा अन्यत्र गइदिँदा प्रमुख जिल्ला अधिकारीमाथि कामको चाप बढेको छ ।






प्रतिक्रिया राख्नुहोस्