धनकुटामा वढाङ्मेट र पापानीको रौनक (फोटो फिचर)

धनकुटा- स्थानीय बाजागाजा र नाचगानले यतिबेला धनकुटामा रौनकता छाएको छ । इष्ट देवताको पूजा र खानपिनले धनकुटा नगरपालिकामा मात्र बसोवास रहेका आठपहरिया जातिका राईहरु पापानी चाडमा रमाइरहेका छन् ।
आठपहरिया जातिको वढाङ्मेट वर्षभरिमा परेको मृत्यु शोक सामुहिक रुपमा उकास्ने र सन्तान प्राप्तीको खुसियालीमा हर्कबढाइ गर्ने मुख्य चाड हो भने सहिदभूमिका राईहरु कुल देवता र पितृको पूजा गर्दै पापानी मनाउने गर्दछन् ।
वढाङ्मेट कात्तिक पूर्णिमाबाट सुरु भएर १५ दिनसम्म जारी रहन्छ । धनकुटा नगरपालिका वडा नं. ५ स्थित ठूलो घर (५२ चुले घर) मा विशेष पूजा गरी चाड औपचारिक रुपमा वडाङ्मेट सुरु हुने गर्दछ ।
सुनसरीको बराहाक्षेत्रमा गएर नुहाइने र पितृको सम्झना गरी दुख विर्सिएर मिठो खानेकुरा खाएर नाचगान गर्दै मनाइने चलन रहेको आठपहरिया समाजका महासचिव सुर्य आठपहरियाले बताउनु भयो ।
वर्षभरिमा मृत्यु हुनेहरुका परिवारका सम्पूर्ण सदस्यहरुले कार्तिक पूर्णिमाको दिन ठूलो घरमा विशेष पुजा सकेर त्यसको भोलिपल्टदेखि तीन दिन हिडेर सुनसरीको बराहक्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री मुण्डन गरि बराह भगवानको दर्शन गरि बरखी फुकाउने प्रचलन रहेको छ ।
यात्राका क्रममा बरखी फुकाउने व्यक्तीले खोलाको बगर तथा खुल्ला ठाउँमा बस्नुपर्ने तथा यातायातका साधन प्रयोग नपाइने चलन छ । यस्तै अरुले निर्माण गरेको पाटीपौवा तथा भवन प्रयोग गर्न नमिल्ने यो चाडमा बास बसेको ठाउँमा अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाउने गरिन्छ ।
खासगरी परिवारका सदस्यको मृत्यु भएको दुःखको पीडालाई सप्तकोसी, कोकाहा खोला र तमोरमा बगाउने चाडको रुपमा लिइन्छ । त्यसपछि जेठो सन्तान जन्मेको घरमा हर्कबढाइ गर्ने चलन रहेको छ ।
यो चाडमा दुख विर्सिएर भक्ति गाउनुका साथै ढोल, मारुनी र आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात पुस्ताको डल्लो नाच नाचेर तथा संस्कृति अनुसारको परिकार राँगाको मासु, कुबिन्डो र फिलुगें अचार खाएर मनाउने गरिन्छ । नाच्नेलाई पैसाको माला लगाइदिने चलन रहेको छ ।
२०७८ को जनगणना अनुसार धनकुटा नगरपालिकामा ५ हजार १ सय १३ जना आठपहरिया जातिको जनसंख्या रहेको छ।
यता धनकुटाको सहिदभूमि गाउँपालिकाका राईहरुको पापानी कार्तिक पुर्णिमा पछिको पहिलो मंगलबार सुरु हुन्छ । चाड सुरु भएपछि मुन्धुम विदले खुढाहाङ (कुल देवता) को १५ दिनसम्म आराधना गर्ने र स्थानीयले पनि कुल देवता र पितृको पूजा गर्दै ६ दिन ६ रातसम्म नाचगान गरी पापानी मनाउने गरीएको छ ।
पापानी पर्वमा राईहरु ढोल, झ्याम्टा बजाउँदै लहरै कुम जोडेर नाच्ने गरेका छन । पापानीको अवसरमा एक हप्तासम्म सहिदभूमिको खोकु, छिन्ताङ र आँखिसल्लाका गढी गढीमा फरक फरक दिन मेला लाग्ने गरेको वडा नं. ६ का स्थानीय नरेन्द्र कस्चित राईले बताउनुभयो ।
पापानी मनाउन पुराना पुस्ता नै चाहिने र नयाँ गाउँमा नबस्ने नाच्न र गाउन नजान्दा परम्परा लोप हुन लागेको राईको भनाइ छ । ‘मुन्धुम गाउने विजुवा भेटिन छाडे, नयाँ पुस्ताले ध्यान दिन छाडेका छन् ।’ राईले भन्नुभयो, ‘पहिले पापानी पनि आफ्नै भाषा गाउने गरिएको थियो तर, अहिले नेपालीमा गाउन थालिएको छ ।’ सहिदभूमिको कुल जनसंख्यामध्ये करिव ८० प्रतिशत राई समुदायको बसोवास रहेको छ ।

















प्रतिक्रिया राख्नुहोस्