हरेक वडा केन्द्रमा इन्टरनेट पुर्याउने योजना प्राथमिकतामा रहेको संचारमन्त्री शर्माको भनाई

सल्यान – सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभरिका सबै वडा कार्यालयसम्म इन्टरनेट पुर्याउने योजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र बागचौर नगर समितिले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने सरकारको महत्त्वपूर्ण निकाय वडा भएकाले वडाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै वडा केन्द्रमा इन्टरनेट विस्तारलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउन थालिएको जानकारी दिदै उहाँले यसले सल्यानसहितका छिमेकी जिल्लाको सेवामा समेत सुधार आउने बताउनुभयो । सल्यान, दाङ, रुकुमलगायत जिल्लाका लागि जीवनरेखाको रुपमा रहेको राप्ती लोकमार्गको स्तरोन्नति र कालोपत्रे सरकारको प्राथमिकतामा रहेकाले चालु आर्थिक बर्षमा आवाश्यक बजेट विनियोजन गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।
सङ्घीयताले जनताको घर नजिकमा सरकार पुर्याएको उल्लेख गर्दै उहाँले यसबाट जनताले शासन होइन सेवा अनुभूति गर्नुपर्ने बताउनुभयो । त्यसका लागि तिनै तहका सरकारबिच समन्वय आवश्यक रहेको बताउनुभयो ।
मन्त्री शर्माले सबै तहका सरकारबिच आवश्यक समन्वय नहुदा एउटै योजनामा धेरै बजेट पर्ने र कुनै योजनामा बजेट नपर्ने समस्या हल गर्ने तयारी भइरहेको बताउनुभयो । अब संघबाट पाँच करोडभन्दा कम बजेट विनियोजन नगर्ने विषयमा छलफल चलिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
मन्त्री शर्माले स्थानीय आवश्यकताको आधारमा योजना बनाउने काम स्थानीय तहको भएकाले स्थानीय सरकारले जति राम्रो योजना बनाउछ, त्यसका आधारमा सङ्घ तथा प्रदेशलाई सहजीकरण गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता माओवादी केन्द्र बागचौर नगर समिति अध्यक्ष शोभाराम भण्डारीले गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.