प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
काठमाडौ- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किनु भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) मा भएको कोप -२८ सम्मेलनमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंसिर १३ गते त्यसतर्फ जानुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई सनिवार सम्बोधन गर्दै जलवायु उत्सर्जनमा नगन्य योगदान गरेका मुलुकहरूले जलवायु परिवर्तनको प्रत्यक्ष,असमान र हानिकारक प्रभाव भोग्नुपरेको बताउनु भएको थियो।
प्रधानमन्त्रीले ‘जलवायु परिवर्तन प्रकृति र मानवता विरुद्धको युद्ध’ भएको र आफ्नो स्वार्थ पूरा गर्नका लागि वर्तमानमा आफैँ र भावी पुस्तासँग समेत लडिरहेको उल्लेख गर्नुभयो ।
उहाँले मानवजातीका लागि हिमाल बचाउन आह्वान गर्दै निर्दोष जनताका लागि जलवायु न्यायको पक्षमा नेपाल उभिएको प्रष्ट पार्नुभयो । जलवायु सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा प्रधानमन्त्रीको सहभागिताबाट नेपाललाई बहुपक्षीय लाभ भएको विश्लेषण गरिएको छ ।
जलवायु मुद्दामा नेपाल अन्यायमा परेको विषय विश्व समुदायलाई जानकारी गराउन, यूएईमा रहेका नेपालीहरुको समस्या पहिचान गरी समाधानको उपाय निकाल्न र यूएईका लगानीकर्ताहरुमाझ नेपालको लगानीमैत्री वातावरण बारे जानकारी गराउन प्रधानमन्त्रीको भ्रमण फलदायी भएको विश्वास गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्