मनाङमा भारी हिमपात, जनजीवन कष्टकर
मनाङ- देशैभर मौसम प्रतिकूल बनेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ ।
यस समयलाई मनाङमा हिमपात हुने अनुकूल समय मानिन्छ । कात्तिक अन्तिम सातादेखि मङ्सिरको पहिलो साताबाट यहाँ हिमपात हुने समय हो ।
गतवर्ष हिमपात हुने समयमा पनि हिमपात हुन सकेको थिएन ।
यसवर्ष समयमा नै हिमपात हुँदा कृषकमा खुशी छाएको छ ।
चिसोले जनजीवन कष्टकर बने पनि समयमा हिमपात हुँदा खेतीपातीका लागि टेवा पुग्नेछ । हिमपात भएपछि स्थानीयमा खेतीपातीका लागि पानी सिञ्चित हुने भएकाले उनीहरु खुशी भएका हुन् ।
यस समयमा परेको हिउँ फागुन, चैत्रसम्म रहने भएकाले सिंचाईका लागि पानी बोटबिरुवाको जरासम्म पुग्ने हुन्छ ।
हिमपात भएपछि यहाँ आवतजावत र दैनिक कामकाज गर्न सकस भएको छ ।
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले हिमपातका कारण जनजीवन कष्टकर भएको बताउनुभयो ।
उहाँले हिमपात जारी रहेकाले पर्यटक, स्थानीयवासी, कर्मचारी, कामदारलाई सचेत रहन आग्रह गरिएको जानकारी दिनुभयो ।
सदरमुकाम चामेसम्म भारी हिमपात भइरहेको छ भने नासों गाउँपालिकाको डाँडाकाँडामा हिमपात भएको छ ।
हिमपात भएपछि यहाँका स्थानीय, पर्यटकलगायत सबै घरभित्र बस्न बाध्य भएका छन् ।।
प्रतिक्रिया राख्नुहोस्